बुटवलमा कोरोना विशेष अस्पताल, आजबाट सञ्चालनमा आउने

रुपन्देही, ८ चैत । बुटवलमा कोरोना भाइरस प्रकोपको पूर्वतयारी स्वरुप अस्थायी अस्पताल निर्माणको काम सुरु भएको छ ।
बुटवल उप महानगरपालिकाले यहाँका स्वास्थ्यसंस्था, निजी क्षेत्र र सरोकारवालाहरुसँगको सहकार्यमा प्रकोप पूर्वतयारीको कामलाई तीव्रता दिएको छ ।
बुटवलले लुम्बिनी प्रादेशिक अस्पताल र यहाँका निजी तथा सामुदायिक अस्पताल एवम् औषधि व्यवसायीसँगको सहकार्यमा क्वारेन्टाइन र आइसोलेशन कक्ष निर्माणको कामलाई तीव्रता दिइएको छ ।
कोरोना भाइरस संक्रमितको उपचारका लागि बुटवलमा १ सय शैय्याको कोरोना विशेष (अस्थायी) अस्पताल निर्माण शुरु भएको छ । अस्पताल आजसम्म सञ्चालन हुने गरी निर्माण थालिएको हो । बुटवल धागो कारखानाको फिनिसिङ ब्लकमा अस्पताल बनाउन थालिएको हो ।
बुटवल उप—महानगरपालिका र लुम्बिनी प्रादेशिक अस्पतालको सहकार्यमा बुटवल उपमहानगरपालिका १० स्थित बन्द अवस्थामा रहेको धागो कारखानाको भवनमा अस्पताल बनाउन ८० जना काममा खटिएका छन् । नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय युवाहरु निर्माणमा खटिएका छन् ।
बुटवल उपमहानगरपालिका प्रमुख शिवराज सुवेदी र लुम्बिनी प्रादेशिक अस्पतालका अध्यक्ष सूर्यबहादुर भट्टराई, अस्पतालका मेसु डा राजेन्द्र खनाल, बुटवलका प्रमुख प्रशासकीय अधिकृत चक्रपाणी शर्मासहित वडाअध्यक्षहरु, बुटवल उपमहानगरका प्राविधिक, अस्पतालका स्वास्थ्य प्राविधिक, विशेषज्ञहरु शुक्रबार बिहानैदेखि निर्माणस्थलमा खटिएको उपमहानगरका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।
निर्माण स्थलको अनुगमन तथा निरीक्षणका लागि प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसी, प्रदेश प्रहरी प्रमुख नरबहादुर केसीलगायत पुगेका छन् ।
बुटवलमा क्वारेन्टाइनका लागि एक सय कोठा तयार पारिएका छन् भने आइसोलेसनका लागि धागो कारखानामा करिब १ सय शय्याको अस्पताल बनाउने काम शुरु गरिएको नगर प्रमुख सुवेदीले बताए ।
लामो समयदेखि बन्द रहेको बुटवल धागो कारखानाको एउटा ब्लकलाई अस्पतालको रुपमा प्रयोग गरिएको र निजी क्षेत्रको समेत सहकार्यमा यसको प्रभावकारी सञ्चालन गरिने उनले बताए ।
पहिलो चरणमा एउटा ब्लकमा एक सय बेडको आइसोलेसन कक्ष निर्माण गर्ने काम चलिरहेको उपमहानगरका वरिष्ठ इन्जिनियर सुमन श्रेष्ठले जानकारी दिए । अहिले आइसोलेसनसंगै बाहिरी क्षेत्रमा घेरबार लगाउने, शौचालय बनाउने र भवन परिसरलाई नै संक्रमणरहित बनाउने काम भइरहेको उनले बताए ।
बुटवल उपमहानगरपालिकाले क्वारेन्टाइनका लागि हाल बिदा भएका र एसइइको केन्द्र समेत नतोकिएका सामुदायिक विद्यालयका करिब एक सय कोठाहरुलाई प्रयोग गर्नेगरी तयारी अवस्थामा राखेको छ ।
ती विद्यालयहरुमा उपयुक्त शौचालय, स्नानागार, भान्सा कोठादेखि उपयुक्त विस्तारासम्मको व्यवस्था मिलाउने काम भइरहेको उपमहानगरका स्वास्थ्य तथा जनसंख्या महाशाखा प्रमुख मित्रमणी खनालले जानकारी दिए ।
बुटवलभित्रकै सरकारी तथा निजी अस्पतालहरुमा कोरोना संक्रमणका विरामीहरुको उपचारका लागि डेढ दर्जन भन्दा बढी आइसोलेसन शय्या तयार रहेको दावी गरिए पनि कोरोनासंग मिल्दो लक्षण लिएर आउने बिरामीलाई अस्पतालहरुले अन्यत्र पठाइदै आइएको छ ।
बुटवलमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको बिरामी नभेटिए पनि कोरोनासंग मिल्दो जुल्दो लक्षण लिएर दैनिक चार÷पाँच जना विरामी आउने गरेका छन् । बुटवलमा हाल आइसोलेसनका लागि ३४ शय्या तयारी अवस्थामा रहेको प्रदेश ५ स्वास्थ्य निर्देशक डा विनोद गिरी बताउँछन् ।
बुटवलमा आशंकामा भर्ना भएका र परीक्षणका लागि नमूना संकलन गरेर पठाइएका कसैमा पनि कोरोनाको संक्रमण नपाइएको अस्पतालका फोकल पर्शन डा.सुदर्शन थापाले जानकारी दिए ।