भक्तपुरमा कोरोना परीक्षण गर्ने ल्याब स्थापना

What's This?


Download our app to get more features

भक्तपुर, ७ चैत । मध्यपुरथिमि नगरपालिकाले कोरोना भाइरस  (कोभिड-१९) को परीक्षण गर्ने ल्याब, एम्बुलेन्स, आइसोलेसनदेखि क्यारेन्टाइनसम्म तयारी अवस्थामा राखेको छ। 

नगरपालिकाद्वारा सञ्चालित नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा कोभिड-१९ को समेत परीक्षण गर्ने मेशिन भित्र्याउनुका साथै अन्य तयारी पूरा गरेर राखेको हो। 
कोरोना भाइरस भए नभएको परीक्षण गर्नसक्ने ‘पोलिमराइज चेन रिएक्सन’  मेशिनसहित नगरपालिका र इन्टरपेड नेपालको समन्वयमा अस्पतालमा मलेकुलर ल्याब र हिस्टो ल्याब आइतबारदेखि सञ्चालनमा ल्याइने भएको छ। यो ल्याबबाट कोरोनाका शङ्कास्पद बिरामीको स्वाब परीक्षण गर्न सकिनेछ। काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग नियन्त्रण अस्पताल टेकुमा कोरोना भाइरस परीक्षणमा चाप धान्न नसकेर सरकारले अनुमति दिएमा यहीँबाट परीक्षण गर्न सकिने भएको हो। कोरोना परीक्षण अनुमतिका लागि कुराकानी भइरहेको बताइएको छ।
    
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष एवं नगरप्रमुख श्रेष्ठले अनुमति आएलगत्तै कोरोना भाइरसको परीक्षण गरी टेकु अस्पतालको भीडलाई कम गर्न यो ल्याब सहयोगी हुने बताए। इन्टरपेड नेपालका दुई र अस्पतालका दुई गरी चारजना जनशक्ति ल्याबमा परिचालन गरिने छन् भने शङ्कास्पद बिरामीको परीक्षणमा पोजेटिभ देखिए रिपोर्टसहित टेकु अस्पताल पठाउने गरी ल्याब सञ्चालनमा ल्याउने तयारी गरिएको छ। यो ल्याबमा विभिन्न रोग सार्न, डेङ्गु, स्वाइनफ्लुलगायत क्यान्सर एवं शरीरका विभिन्न अङ्गका ट्युमरको समेत परीक्षण गर्न सकिने भएको छ। ल्याब परीक्षणका लागि विदेश पठाउँदा महँगो र रिपोर्ट आउन धेरै समय लाग्ने भएकाले यहीँ परीक्षण गर्दा सरल एवं छिटो हुने दाबी गरिएको छ। 
    
यसैगरी नगरपालिकाले ६  शैयाको आइसोलेसन वार्डसमेत तयार पारेको छ। अस्पतालमा छुट्टै ब्लक निर्माण गरेर कम्तीमा चारदेखि बढीमा ६ जनासम्म अट्ने व्यवस्थित आइसोलेसन वार्ड तयार पारेको हो। यसलाई केही दिनभित्रै सञ्चालनमा ल्याउन सकिने नगर प्रमुख श्रेष्ठले जानकारी दिए। आइसोलेसन वार्डमा कोरोना सङ्क्रमति बिरामीको उपचारका लागि जनशक्तिसमेत तयारी अवस्थामा राखेको छ। अस्पतालका डाक्टरलगायत स्वास्थ्यकर्मीलाई बिरामीको उपचारका बारे आवश्यक तयारी र अपनाउनुपर्ने सावधानीका बारेमा तालीमसमेत दिइएको छ। कोरोना सङ्क्रमति बिरामीको उपचारमा लगाइने सुरक्षित पोशाक लगाउने र उपचार गर्नेबारेमा तालीम दिइएको छ। 

अस्पतालका लागि इन्टरपेड नेपालले नौ सेट पिपिइ पोशाक र पोशाक लगाउनेलगायतको तालीम दिएको हो। कोरोनाका शङ्कास्पद बिरामी आएमा अस्पतालले डेण्टल र फिजियोथेरापीका लागि निर्माण गरेको ३० शैया क्षमताको नयाँ भवनसमेत प्रयोगमा ल्याउने तयारी गरेको छ। “आइसोलेसन वार्डका साथै शङ्कास्पद बिरामी राख्ने ठाउँ अभाव भएमा नयाँ भवनको दुवैतला प्रयोगमा ल्याउने गरी तयारी अवस्थामा राखेका छाँै, क्वारेन्टाइनका लागि आवश्यक परे बोडेको कृषि विकास बैंकको भवन प्रयोगमा ल्याउने तयारी गरेका छाै।”नगरप्रमुख श्रेष्ठले भने।

नगरपालिकाले हालै करिब रु ४० लाखमा खरिद गरेको एम्बुलेन्सलाई कोरोना सङ्क्रमितका शङ्कास्पद बिरामी बोक्न तयारी अवस्थामा राखेको छ। “नगरपालिकाले नयाँ एम्बुलेन्सलाई आवश्यकता पर्दा कोरोना सङ्क्रमति बिरामी मात्रै बोक्ने गरी तयारी अवस्थामा राखेका छाै, एम्बुलेन्स चालक र बिरामीबीच कुनै पनि सम्पर्क नहुने गरी एम्बुलेन्सलाई तयारी अवस्थामा राखेका हौ।” उनले थपे।
    
अस्पतालका मेडिकल डाइरेक्टर डा डिके रौशनले अस्पताल सङ्कटको बेलामा कसरी परिचालन हुने भनेर तयारी अवस्थामा रहेको बताए। रौशनले नगरपालिकाको सहयोगमा अस्पताल कोभिड-१९ को सङ्क्रमण रोक्न, जनचेतना प्रवाह गर्ने. कार्यमा समेत सक्रिय रहेको बताए।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts