चितवनमा ७२ घण्टाभित्र बनेको "कोरोना विशेष अस्थायी अस्पताल" आजदेखि सञ्चालनमा

What's This?


Download our app to get more features

चितवन, ७ चैत । कोरोना भाइरस सङ्क्रमितका लागि निर्माण गरिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पताल आजदेखि सञ्चालनमा आएको छ ।

भरतपुरको प्रदर्शनी स्थलमा निर्माण गरिएको अस्पतालमा ५० बेडको क्षमतामा आजबाटै ओपीडी सेवा सञ्चालन गर्ने तयारी भएको भरतपुर महानगरपालिकाका प्रमुख रेणु दाहालले जानकारी दिइन् । आज एक औपचारिक कार्यक्रमकाबीच अस्पतालको उद्दघाटन गरिनेछ ।

७० बेडको अस्पताल निर्माण गर्ने तयारी रहेको बताउँदै प्रमुख दाहालले अहिलेलाई ओपीडी सेवा हुने र पछि आइसोलेसनको व्यवस्था गरिनेछ । ओपीडी सञ्चालनपछि आईसीयू सेवा दिने गरी तयारी तीव्र पारिएको छ ।

कोरोना नियन्त्रण कार्यदलका प्रवक्ता डाक्टर भोजराज अधिकारीले अस्पतालमा खटिने स्वास्थ्यकर्मीको व्यवस्था भइसकेको बताउनुभयो । उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीलाई तालिम समेत दिएको छ ।
 आजबाट त्यहाँ १४ जना जनशक्ति अस्पतालमा खटिनेछन् । बिरामीको चाप र आवश्यकताअनुसार जनशक्ति र उपकरणहरू थपिँदै लैजाने उनले बताए ।

कार्यदलको बैठकले आजबाट चितवनमा सञ्चालन हुँदै आएका हाटबजार र केबुलकार पनि बन्द गर्ने निर्णय गरेको कार्यदलका सदस्य अधिकारीले जानकारी दिए ।  

मंगलबार विहान भरतपुर महानगरपालिका र चितवन उद्योग संघको संयुक्त आयोजनामा भएको छलफलले ७२ घण्टाभित्र अस्पताल बनाउने निर्णय गरेको थियो । सोही निर्णय अनुसार ७२ घण्टाभित्र सेवा सञ्चालनमा गर्ने गरी अस्पताल तयार भएको प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए ।

नवनिर्मित अस्पतालमा १० वटा आइसियू (सघन उपचार कक्ष), १० वटा एचडियू (उच्च निर्भरता कक्ष) र ५० वटा जनरलसहित ७० शैया छन् । अस्पतताल भरतपुर महानगरपालिकाको पहलमा तयार भएको हो । 

Last modified on 2020-03-20 10:01:04


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts