कोभिड-१९ः विश्वभर भइरहेका गतिविधि, इटलीमा मृत्यु हुनेको संख्या चीनको भन्दा बढी

काठमाडौं, ७ चैत । कोरोनाभाइरसको जोखिम न्यूनीकरणका लागि अध्यागमन नियन्त्रण गर्ने सरकारले निर्णय लिएयता ५३ जना विदेशीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट फिर्ता पठाइएको अधिकारीहरूले बताएका छन् ।
त्यसरी फिर्ता हुनेमध्ये ४४ जनालाई स्वाब टेस्टको प्रमाणपत्र नल्याएको कारण र नौ जनालाई ‘अन अराइभल भिसा’ अर्थात् नेपाल प्रवेश गरेपछि तत्कालै प्रवेशाज्ञा नदिने सरकारी निर्णयका कारण फिर्ता गरिएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
शनिवार मध्यरातबाट लागु हुने गरी नेपाल सरकारले विदेशीहरूलाई ‘अन अराइभल भिसा’ नदिने र नेपाल प्रवेश गर्नका लागि स्वास्थ्य प्रमाणपत्र पेश गर्नुपर्ने निर्णय गरेको थियो ।
उक्त निर्णय भएयता त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै नेपाल आउने विदेशीहरूको सङ्ख्या ह्वातै घटेको छ र नेपाल प्रवेश गरेका केही सय विदेशीमध्ये अधिकांश भारतीय नागरिक छन् ।
यसैबीच नेपाललाई लक डाउन गर्ने विषयमा गृहकार्य सुरु भएको छ । गृह मन्त्रालले नेपाललाई लक डाउन गर्ने विषयमा बिहीवार मन्त्रीपरिषदमा प्रस्ताव लगेको छ ।
भारतमा जनता कफुर्यू
भारतमा कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि जनता कफुर्यू जारी गरिएको छ ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरस सङ्क्रमणबाट जोगिन सबै नागरिकलाई आगामी केही हप्ता अत्यावश्यक अवस्थामा बाहेक घरबाहिर ननिस्कन र सकेसम्म घरबाटै काम गर्न अपील गरेका छन् ।
देशवासीका नाममा बिहीवार साँझ सम्बोधन गर्दै उनले ६५ वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई घरमै बस्न पनि आग्रह गरे ।
प्रधानमन्त्री मोदीले मार्च २२ तारिखका दिन बिहान ७ बजेदेखि बेलुका ९ बजेसम्म ‘जनताले जनतामाथि आफैँ जनता–कर्फ्यु’ लगाउन अपील गरे ।
त्यसको अनुभवले अन्य चुनौती सामना गर्न तयार पार्ने उनको भनाइ छ ।
“जनता कर्फ्यु अर्थात् जनताका लागि जनताद्वारा आफैँमाथि लगाइएको कर्फ्यु हो । मार्च २२ तारिखको दिन बिहान ७ बजेदेखि राति ९ बजेसम्म सबै देशवासीले जनता–कर्फ्यु पालना गर्नुपर्ने छ ।”
आफ्नो सम्बोधनमा मोदीले कोरोनाभाइरसको महामारीले विश्वभरि पूरै मानवजातिलाई नै सङ्कटमा पारिदिएको उल्लेख गरेका छन् ।
भारतमा अहिलेसम्म १९ राज्यमा कोरोनाको संक्रमण फैलिसकेको छ ।
इटलीमा चीनमा भन्दा बढीको मृत्यु
इटलीमा कोरोनाभाइसका कारण एकै दिनमा ४ सय २७ जनाको ज्यान गएपछि त्यहाँ कोभिड–१९ रोगका कारण मृत्यु हुने बिरामीहरूको सङ्ख्या अन्य देशहरूको तुलनामा सबैभन्दा बढी पुगेको देखिएको छ ।
इटलीमा मृत्यु हुनेको सङ्ख्या ३ हजार ४ सय ५ पुगेको अधिकारीहरूले जनाएका छन् । त्यो सङ्ख्या गत वर्ष कोरोनाभाइरसको सङ्क्रमण सुरु भएको चीनको भन्दा बढी हो ।
चीनमा अहिलेसम्म ३ हजार २ सय ४९ जनाको ज्यान गएको बताइएपछि तथ्याङ्कको विश्वसनीयतामाथि प्रश्नहरू उठी नै रहेका छन् ।
यसैबीच, मार्च १२ तारिखदेखि इटलीमा मानिसहरूलाई बाहिर निस्कन लगाइएको प्रतिबन्ध अब मार्चको अन्त्यसम्म नै लागु गरिने भनिएको छ । लगभग पूरै इटलीका मानिसहरूलाई घरभित्रै बस्न आदेश दिइएको छ ।
चीनमा बिहीवार एक जनापनि नयाँ संक्रमित भेटिएन
कोरोना भाइरसको केन्द्र मानिएको चीनमा बिहीवार एक जना पनि नयाँ संक्रमित फेला नपरेको जनाइएको छ ।
चीन सरकारले बिहीबार जानकारी दिँदै कुनैपनि नयाँ संक्रमित फेला नपरेको जनाएको हो ।
दक्षिण कोरियामा सक्रमितको संख्या बढ्यो
दक्षिण कोरियामा सङ्क्रमित हुने मानिसहरूको सङ्ख्या बढेर बिहीवार १ सय ५२ पुगेको छ ।
यद्यपि त्यसमध्ये बाहिरबाट आएका मानिससँग सम्बन्धित कति घटना छन् भन्नेबारे स्पष्ट भएको छैन ।