कोरोनाबाट विश्वभरीमा आठ हजार नौ सय ८२ जनाको मृत्यु

बीबीसी, ६ चैत। विश्वभरी महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण बिहीबारसम्म ८ हजार ९८२ व्यक्तिको मृत्यु भएको छ।
विश्व स्वास्थ्य सङ्गठनले बुधबार सार्वजनिक गरेकोे विवरणअनुसार संसारभरी २ लाख २० हजार १९९ जना कोरोना भाइरस सङ्क्रमित भएका छन्। सङ्क्रमित व्यक्तिहरुमा ८५ हजार ७६९ जना उपचारपछि घर फर्किएका छन्। एक लाख २५ हजार ४४८ व्यक्ति हाल सङ्क्रमित रहेका जनाइएको छ। कोरोना भाइरस कोभिड–१९ को सङ्क्रमण हालसम्म १७६ वटा देशमा देखा परीसकेको छ।
चीनको हुबेई प्रान्तको उहान शहरबाट सुरु भएको कोभिड-१९ लाई विश्व स्वास्थ्य सङ्गठनले ‘विश्वव्यापी महामारी’को सङ्ज्ञा दिएको छ। बिहीबार देशभित्र कुनै पनि नयाँ सङ्क्रमणका घटनाहरू देखा नपरेको चिनियाँ अधिकारीहरूले बताएका छन्। तर बाहिरबाट चीन आएका व्यक्तिहरूमा बुधवार ३४ वटा नयाँ सङ्क्रमण देखा परेको जनाइएको छ ।
चिनियाँ मूलभूमिमा जनवरीयता ८१ हजारवटा भन्दा बढी कोरोनाभाइरसको सङ्क्रमण देखिएका छन्। चीनको हुबेई प्रान्तको उहानबाट शुरु भएको यस कोरोना भाइरस सङ्क्रमणबाट चीनभरी चीन हजार २३७ व्यक्तिको मृत्यु भएको छ भने ८० हजार ८९४ जना सङ्क्रमित रहेका छन्। हाल चीनमा कोरोना भाइरसको सङ्क्रमणका नयाँ घटना अधिकांश बाहिरबाट आएका आगन्तुकहरूले ल्याएका जनाइएको छ।
कोरोनाभाइरसका कारण विश्वभरि सडक र सार्वजनिक स्थल रित्तिएका छन्। यसैबीच बिहीवार दक्षिण कोरियामा १५२ वटा नयाँ घटनाहरू देखा परेका तर ती मध्ये कति विदेशबाट भित्रिएका हुन् सो भने प्रष्ट भइसकेको छैन्। सिङ्गापुरमा बुधवार ४७ जनामा नयाँ सङ्क्रमण देखा परेकाे छ। जसमध्ये ३३ जना स्वदेशमा आएका थिए।
यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाभाइरसको सङ्क्रमणबारे बिहीवार साँझ देशवासीका नाममा सम्बोधन गर्ने समाजिक सञ्जाल ट्विटरमार्फत बताएका छन्। भारतमा हालसम्म कम्तीमा १६९ जनामा कोरोनाभाइरस सङ्क्रमणका घटना देखा परेका छ र देशभर सयौँको सङ्ख्यामा मानिसहरूलाई ’सेल्फ आइसोलेशन’ वा ’क्वारन्टीन’ केन्द्रमा राखिएको छ। भारतभर विद्यालय र कलेजहरू बन्द गरिएका छन् र धेरै राज्यहरूले भिडभाडमा प्रतिबन्ध लगाएका छन्। तर विज्ञहरूले कोरोनाभाइरस फैलन नदिन भारतले अझ धेरै कदम चाल्नुपर्ने बताइरहेका छन्। हालसम्म भारतमा कोरोनाभाइरसका कारण तीन जनाको मृत्यु भएको भईसेकेको छ।
दक्षिण एसियाली देशहरुमध्ये पाकिस्तानमा कोरोनाभाइरस सङ्क्रमितहरूको सङ्ख्या ३०७ पुगेको छ र त्यहाँ सङक्रमणबाट दुई जनाको ज्यान गइसकेको छ। श्रीलङ्कामा ५१ जना, अफगानिस्तानमा २२ जना, बङ्गलादेशमा १४ जना, माल्दिभ्समा १३ जनामा सङक्रमण देखिएपनि नेपाल र भुटान सङक्रमण हालसम्म देखा परेको छैन।