तनँहुमा कोरोना भाईरस बाट बच्न आइसोलेसन कक्ष स्थापना

बन्दीपुर,६ चैत, कोरोना भाईरस (कोभिड-१९) का शङ्कास्पद बिरामीको उपचारका लागि तनहुँको बन्दीपुर अस्पतालमा ‘आइसोलेसन कक्ष ’स्थापना गरिएको छ।
अस्पतालमा आठ श्ययाको सो कक्ष निर्माण गरिएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष एवं अस्पताल व्यवस्थापन समितिका अध्यक्ष पूर्णसिं थापाले जानकारी दिए। सो कक्षमा कोरोना सङ्क्रमणका शङ्कास्पद बिरामीको उपचार गर्ने, खकार र सिङ्गानको नमूना सङ्कलन गरेर केन्द्रमा पठाउने व्यवस्था मिलाइएको थापाले बताए।
“गाउँपालिकाले कोरोना भाइरसबाट बच्न सतर्कता अभियान पनि सञ्चालन गरिरहेको छ”, अध्यक्ष थापाले भने। कोरोना भाइरस स्वासप्रस्वासबाट फैलने मात्र नभई हात मिलाउँदा, नजिकै बस्दा, हिँडडुल गर्दा, बोल्दासमेत हावाको माध्यमबाट सर्ने हुँदा यस्ता क्रियाकलापमा सजग रहन गाउँपालिकावासीलाई आग्रह गरिएको थापाले जानकारी दिए। त्यस्तै शुक्लागण्डकी नगरपालिका-५ बलचौतारास्थित जिपी कोइराला राष्ट्रिय स्वासप्रस्वास उपचार केन्द्रमा केही दिन अगाडि मात्रै १२ श्ययाको आइसोलेसन कक्ष निर्माण गरिएको छ। आइसोलेसन कक्षलाई २० श्ययासम्म पुर्याउन सकिने अस्पतालका कार्यकारी निर्देशक डा. रामकुमार श्रेष्ठले जानकारी दिएका छन्।