प्रदेश २ मा कोरोनाको संक्रमणबाट जोगिन सरकारले गरेको तयारी अपुग
प्रयोगशाला र दक्ष जनशक्तिको आभाव

जनकपुर, ६ चैत । कोरोना भाइरसको त्रास विश्वभरी जारी नै रहेको समयमा त्यसबाट बच्नका लागि विश्वका सबै देश आन्तरिक तयारीमा जुटि सकेको छ । नेपालमा पनि यसबाट बच्नका लागि तयारी भईरहेका छन् । तर, प्रदेश दुईमा कोरोना भाइरसबाट बच्नका लागि गरिएका प्रयासहरु पर्याप्त देखिएको छैेन ।
नेपाल समेत कोरोना भाइरसको चपेटामा पर्न सक्ने भन्दै विश्व स्वास्थ्य संगठनले नेपाललाई उच्च जोखिमको ससूचीमा राखेको छ । हुनत प्रदेश दुईको सामाजिक विकास मन्त्रालय मातहत रहेको स्वास्थ्य महाशाखा र संघ सरकार मातहत रहेको स्वास्थ्य निर्देशनालयले सकभर तयारी गरेको दावी गर्दै आईरहेका छन् । यद्यपि तयारी अपुग देखिएको छ ।
बुधवार निर्देशनालयद्वारा आयोजित कोरोना भाइरस (कोभिड १९) विषयमा पत्रकारहरुसँगको अन्तरक्रियामा दक्ष प्रयोगशाला र जनशक्तिको आभाव रहेको तथा बचाउका लागि प्रयोग गरिने मास्क, पीपीई, ग्लोब्स, सेनिटाइजरको आभाव रहेको जानकारी गराइएको थियो ।
कार्यक्रममा स्वास्थ्य निर्देशनालयका सूचना अधिकारी विजय झाले प्रदेशमा भइरहेको तयारी बारे जानकारी दिदै भने ‘कोरोना भाइरसबाट बच्न प्रयोग गरिने सामाग्रीको उत्पादक चीन रहेको, तर चीन आफै जोखिम रहेको र अन्य मुलुक ती सामानहरुको स्टक गरिसकेका कारण बजारमा अभाव देखिएको छ ।’
पत्रकारहरुको जिज्ञासामा उनले क्वारेन्टाइन स्थापना गर्ने क्षमता आफूहरुसँग नरहेको बताए । विभिन्न अस्पतालहरुमा आइसोलेसन वार्डको व्यवस्था गरिएको उनले जानकारी दिए । तर, कोरोना पीडितको उपचारका लागि आवश्यक पर्ने भेन्टीलेटर भने पर्याप्त संख्यामा नरहेको बताए । उनले जिल्ला अस्पतालहरुमा २ शय्याको आइसोलेसन वार्ड व्यवस्था गर्न निर्देशन दिइ सकिएको तर हालसम्म भए नभएको यकिन जानकारी आएको छैन भने ।
निर्देशनालयका प्रमुख डा. हरिशचन्द्र साहले कोरोना भाइरस संक्रमणको रोकथाम नियन्त्रणका लागि उपाय तथा त्यसबाट बच्न विभिन्न सचेतना सहितको सूचना जिल्ला तथा प्रदेशस्तरमा निर्देशनालय मार्फत जारी रहेको बताए ।
अन्तरक्रिया कार्यक्रममा प्रदेश दुईमा विभिन्न सीमावर्ती नाकासहित २५ स्थानमा हेल्थ डेस्कको स्थापना गरिएको जानकारी गराइएको थियो ।