सैनिक मुख्यालयमा कोरोना भाईरस जोखिम सम्बन्धी पूर्वाभ्यास

काठमाडौं, ५ चैत । विश्वभर फैलिरहेको कोरोना भाईरस (कोभिड-१९) बाट हुने जोखिम नियन्त्रण, उपचार विधि र अपनाउनुपर्ने सजगताबारे नेपाली सेनाले पूर्वाभ्यास गरेको छ।
सैनिक मुख्यालय जङ्गीअड्डा परिसरमा कोरोना भाईरस (कोभिड-१९) को उपचार पूर्वाभ्यासका लागि अस्पताल र क्वारेन्टाइन झल्कने त्रिपाल स्थापना गरी बिरामीको प्रवेशसँगै रोग परीक्षण, शङ्कास्पद व्यक्ति राख्ने स्थल र क्वारेन्टाइनबाट प्रदान गरिनेसम्बन्धी सम्पूर्ण जानकारी गराइएको छ। त्रिपालमा क्वारेन्टाइन स्थलको लेआउट विधिबारे पनि जानकारी दिइएको छ।
बिरामीलाई अस्पतालमा गरिने उपचार विधि र प्रक्रियाका साथै क्वारेन्टाइनमा रहँदा चिकित्सकबाट प्रदान हुने सेवा तथा जोखिम नियन्त्रणका लागि बिरामी र चिकित्सकले अपनाउनु पर्ने सजगताका सम्बन्धमा सङ्गठन मातहतका निकाय र सर्वसाधारणलाई सञ्चारमाध्यममार्फत जानकारी गराउन पूर्वाभ्यास गरिएको सैनिक प्रवक्ता विज्ञानदेव पाण्डेले जानकारी दिए। पूर्वाभ्यासका लागि जङ्गीअड्डा परिसरमा ६० भन्दा बढी पाल स्थापना गरिएको छ।
संक्रमण आशङ्का भई अस्पताल पुग्ने बिरामीलाई दिइने स्वास्थ्य सेवा, जोखिम नियन्त्रणका लागि बिरामी र चिकित्सकले अपनाउनुपर्ने सचेतना र क्वारेन्टाइनमा रहँदा हेक्का राख्नुपर्ने विषयका बारेमा पूर्वभ्यासका क्रममा प्रमुख सेनानी डा मुन थापा र सेनानी ली बुढाथोकीले जानकारी दिए। चिकित्सक ५० र अन्य गरी १८१ जनाको चिकित्सा टोली पूर्वाभ्यासमा संलग्न छ। यस्तो पूर्वाभ्यास आवश्यकतानुसार भइरहने छ।
कोरोना भाईरसको जोखिम नियन्त्रणका लागि हातधुने तरिका, चिकित्सकले अपनाउनुपर्ने सावधानी, बिरामीको तामक्रम लिँदा पुर्याउनुपर्ने होशियारीलगायत विषयमा जानकारी दिइने छ। पूर्वाभ्यासबाट जङ्गीअड्डा मातहतका विभिन्न निकाय र अन्य सर्वसाधारणका लागि समेत कोरोना भाईरस उपचार विधि र अपनाउनुपर्ने पद्धतिबारे जानकारी लिन सहयोग पुग्नेछ। सैनिक मुख्यालय र मातहतका निकायका कार्यालय प्रवेश गर्नुअघि ज्वरो भएको नभएको यकिन गर्ने र स्यानिटाइजरको प्रयोग गर्ने कार्य शुरु भइसकेको छ। नेपालमा हालसम्म कोरोना भाईरसका बिरामी फेला परिसकेका छैनन्।