दादुरा र रुवेला खोपको निम्ता बाँड्दै घरघरमा पुगे जनप्रतिनिधि 



Download our app to get more features

खलङ्गा, ५ चैत । फागुन र चैत महिनामा गरि नेपालभर ९ महिनादेखि ५ वर्षसम्मका बालबालिकालाई दुई चरणमा गरि दादुरा र रुवेला खोप दिइँदै छ । चैत १ गतेदेखि २९ गतेसम्म सञ्चालन भइरहेको दोश्रो चरणको दादुरा र रुवेला खोप अहिले विभिन्न जिल्लामा चलिरहेको छ ।  यस अवसरमा ९ महिनादेखि ५ बर्षसम्मका सबै बालबालिकालाई नजिककैको खोप केन्द्रमा ल्याइदिन सरोकारवाला निकायहरुले आग्रह गरेका छन् ।  यहि  सन्देशसहितको चिठ्ठी बोकेर जाजरकोटका सबै स्थानीय तहका जनप्रतिनिधि अहिले घरघरमा पुगी निम्तो बाँडिरहेको छन्। 

स्वास्थ्य सेवा कार्यालयमार्फत सरोकारवाला निकायले जाजरकोटका स्थानीय ७ तहमा बालबालिका भएको सबै घरमा नगरप्रमुख, गाउँपालिका अध्यक्ष, वडाध्यक्ष र स्वास्थ्य संस्था प्रमुख सहित निमन्त्रणा कार्ड पठाएको हो। 

कोही पनि नछुटुन् भनेर घर(घरमा गएर सन्देश, निम्तासहितको कार्ड वितरण गरिएको र अनिवार्य खोप लगाउन मौखिमरूपमा समेत निम्ता दिइएको नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले जानकारी दिएका छन्। “जानकारी नपाएर पनि धेरै अभिभावकले बालबालिकालाई खोप दिन भुलेको अवस्था छ, यसमा हामी सबैले जोडदारका साथ अभियानमा लागेर सफल बनाउनुपर्छ, राज्यको सेवासुविधा सहीरूपमा सदुपयोग गर्न म सबैलाई अनुरोध पनि गर्दछु।” रावलले भनेका छन्। 

घर(घरमा निम्ता कार्ड बोकेर खोप लगाउन सल्लाह दिँदै हिँडेका जनप्रतिनिधि देखेर स्थानीयवासी खुशी भएका छन्। “महिला स्वयंसेविकाले खोपका विषयमा अलि(अलि जानकारी गराएको त थाहा थियो, योपटक जनप्रतिनिधि आफैँले सही गरेको कार्ड बोकेर घरघरमा आउँदा अलि फरक मात्र होइन, खोप लगाउन बाध्यसमेत पारिदिएको छ।” बारेकोट गाउँपालिका ५ का जनकबहादुर शाहीले भने। सञ्चार सेवाको पहुँच नभएका जाजरकोटका दूरदराजमा खबर मात्र होइन सञ्चारको कामसमेत जनप्रतिनिधिबाट हुँदै आएको छ।
 
खोप कार्यक्रम सफल बनाउका लागि सात स्थानीय तहका जनप्रतिनिधिलाई सुक्ष्म योजना तालिम दिइएको छ। त्यस्तै खोप कार्यक्रमका लागि एकदिने अभिमुखीकरण तालिमसमेत दिइएको स्वास्थ्य सेवा कार्यालयका खोप सम्पर्क व्यक्ति शान्तबहादुर बुढाथोकीले जानकारी दिए। बुढाथोकीका अनुसार पत्रकार, नागरिक समाज, प्रमुख जिल्ला अधिकारी, प्रहरीसमेत सचेतना गोष्ठीमार्फत आवश्यक जानकारी दिइएको छ। 
 
खोपको प्रभावकारी तथा सही सदुपयोग भएको वा नभएको बारेमा अनुगमनसमेत गर्ने व्यवस्था मिलाएको बुढाथोकीले जानकारी दिए। नेपालबाट दादुरा-रुवेला रोग पूर्णरूपमा निवारण गरौँ भन्ने खोप कार्ड स्वास्थ्य संस्था र अभिभावकप्रति सबै विवरण भरेर अभिलेखीकरणसमेत गरिएको छ। यो अभिलेखीकरणले कति बालबालिका खोपको पहुँचमा आए भन्ने स्पष्ट हिसाब आउने बुढाथोकीले बताए। रासस

Last modified on 2020-03-18 11:15:26


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts