चितवनमा ३ दिनभित्र ७० शैयाको छुट्टै कोरोना अस्पताल बनाइने

चितवन, ४ चैत । भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्र (एक्सपो) सेन्टरमा कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९)बाट बच्न उच्च सतर्कता अपनाउँदै ३ दिन (७२ घण्टा) भित्र ७० शैयाको छुट्टै कोरोना विशेष अस्पताल बन्ने भएको छ ।
मंगलबार विहान भरतपुर महानगरपालिका र चितवन उद्योग संघको संयुक्त आयोजनामा भएको छलफलले सो निर्णय गरेको हो । ७२ घण्टाभित्र सेवा सञ्चालनमा ल्याउने गरी सो अस्पताल निर्माण गरिने प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले जानकारी दिए। अस्पतालको निर्माण एवम् व्यवस्थापनको लागि स्वास्थ्यकर्मी सहितको १४ सदस्यीय टोली गठन गरिएको भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेण्डेन्ट (मेसु) डा। श्रीराम तिवारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए ।
१० वटा आइसियू (सघन उपचार कक्ष), १० वटा एचडियू (उच्च निर्भरता कक्ष) र ५० वटा जनरल सहित ७० शैयाको अस्पताल बन्ने छ । भरतपुर महानगरपालिकाको पहलमा सो अस्पताल बन्न लागेको हो । कोरोना भाइरस प्राणघातक रुपमा फैलिएसँगै विश्व स्वास्थ्य संगठनले विश्वव्यापी संकटकालको घोषणा गरेको छ । स्वास्थ्य मन्त्रालयले सबै अस्पताललाई सम्भावित बिरामीको उपचारका लागि तयारी रहन निर्देशन दिएसँगै चितवन लगायत देशैभर अस्पताल र स्थानीय निकायले यसमा तदारुकता देखाएका हुन् ।