चितवनमा अहिलेसम्म आशंका गरिएका चारै जनामा कोरोना नभएको पुष्टि

चितवन, ४ चैत । चितवनमा अहिलेसम्म आशंका गरिएको चारै जनामा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।
भारतबाट फर्किएकी थप एक महिलालाई कोरोना भाइरस संक्रमणको आशंकामा आइतवार भरतपुर अस्पतालले नमूना परीक्षणका लागि केन्द्रीय प्रयोगशाला टेकु पठाइएको थियो । सोमवार रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए ।
यसअघि आशंका गरिएको ३ र थप एक सहित चारै जनाको रिपोर्ट नेगेटिभ आएको सूचना अधिकारी पौडेलले बताए ।
बिहीवार विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको आशंकामा एकजनालाई भरतपुर अस्पतालले आइसोलेशनमा राखेको थियो । झन्डै दुई साताअघि अष्ट्रेलियाबाट फर्किएका ती व्यक्तिको लक्षण कोरोनासँग मिल्ने देखिएकाले छुट्टै राखेर परीक्षण एवं उपचार गरिएको थियो । उनको पनि रिपोर्ट नेगेटिभ आएको थियो ।
नेपालमा समेत यसको जोखिम रहेको भन्दै कोरोना देखिएको भन्ने हल्लाको पछि नलाग्न र उच्च सर्तकता अपनाउन भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) श्रीराम तिवारीले सबैमा अनुरोध गरेका छन् ।
यसअघि अस्पतालमा ५ शय्याको आइसोलेसन वार्ड रहेकोमा सम्भावित कोरोना (कोभिड–१९) भाइरस संक्रमणको जोखिमलाई लक्षित गर्दै बिहिवारदेखि १९ शय्याको आइसोलेसन वार्ड स्थापना गरिएको छ । यस्तै अस्पतालले तीन सदस्यीय कोभिड –१९ आउटब्रेक म्यानेजमेन्ट टीम पनि विस्तार गरी १३ सदस्यीय बनाएको छ ।
यसअघि भरतपुर अस्पतालमा कोरोनाको बिरामी भेटिएको भन्ने हल्लाले सर्वसाधारणमा त्रास छाएको थियो । हालसम्म कसैमा पनि कोरोना भाइरसको संक्रमण नभएको पुष्टि अस्पतालले गरेको छ ।