जफत गरिएका माक्स बिक्रिवितरण गर्न प्रहरीलाई महान्याधिवक्ता कार्यालयको निर्देशन

काठमाडौं, ३ चैत । महान्याधिवक्ताको कार्यालयले कालोबजारी भएका क्रममा जफत गरेका माक्सहरु बिक्रि वितरण गर्न नेपाल प्रहरीलाई निर्देशन दिएको छ ।
पछिल्लो समयमा कालोबजारी भइरहेको अवस्थामा नेपाल प्रहरीले ठूलो परिणाममा माक्स बरामद गरिरहेको छ । बजरामा माक्स अभाव भइरहेका बेला उक्त जफत भएका माक्स बिक्रि नगरिए थप अभाव सिर्जना हुने भन्दै महान्याधिवक्ता कार्यालयले यस्तो निर्देशन दिएको हो ।
बरामद माक्सको मूल्य तथा नमूना सहितको अभिलेख वा फोटो मिसिलमा राखेर मुद्दा चलाउन कार्यालयले प्रहरीलाई भनेको छ । त्यस्तै, ती माक्सहरुलाई साझा स्वास्थ्य सेवा जस्ता सार्वजनिक संस्थालाई बजारभाऊ अनुसार बेचेर सो रकम प्रहरीको धरौटी कोषमा जम्मा गर्नपनि कार्यालयले पत्राचार गरि प्रहरी कार्यालयलाई निर्देशन दिएको छ । साथै माक्सको कालोबजारी गर्नेहरु उपर मुद्दा अभियोजन गर्दा सो धरौटी रकम जफत हुने मागदाबी गर्नसमेत महान्याधिवक्ता कार्यालयले प्रहरीलाई निर्देशन दिएको छ ।
यो सँगै प्रहरीले विभिन्न स्थानबाट जफत गरेका माक्स बजारको चल्तिको मूल्यमा बिक्रिवितरण हुने भएको छ ।