कोरोना भाइरसको सतर्कता अपनाउँदै प्रदेश २ मा १ सय १५ आइसोलेसन वार्ड निर्माणको काम सुरु



Download our app to get more features

जनकपुरधाम, २ चैत । विश्वव्यापी महामारी घोषणा गरिएको कोभिड–१९ अर्थात कोरोना भाइरसबाट बच्न पूर्व तयारी स्वरुप प्रदेश २ सरकारले विभिन्न अस्पतालहरुमा १ सय १५ वटा आइसोलेसन वार्ड निर्माणको काम सुरु गरेको छ ।
 
आइसोलसन वार्ड निर्माणका लागि स्वास्थ्य निर्देशनालयको नेतृत्वमा प्रदेशभित्रका मेडिकल कलेज तथा अस्पतालमा १ सय १५ वटा आइसोलेशन वार्ड बनाउने काम अघि बढाइएको हो ।

स्वास्थ्य निर्देशनालयका उपनिर्देशक विजयकुमार झाले क्षीरेश्वरनाथ नगरपालिकाको रमदैयास्थित जानकी मेडिकल कलेजमा ६०, वीरगञ्जस्थित नेशनल मेडिकल कलेजमा ५०, प्रादेशिक अस्पताल जनकपुरमा ३ र नारायणी उपक्षेत्रीय अस्पतालमा ५ वटा आइसोलेशन वार्ड निर्माणको काम सुरु भएको बताए ।

प्रदेश २ मा हालसम्म कोरोना संक्रमण नदेखिए पनि पूर्व सतर्कताका लागि वार्ड निर्माण गर्न लागिएको उनले जानकारी दिए । 

यसैगरी, कोरोनाको संक्रमण भित्रिन नदिन सीमा क्षेत्रमा विशेष निगरानी बढाइएको छ । गाउँ तथा नगरपालिकामा हेल्थ डेक्स सञ्चालनको तयारी गरिएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले भारतमा कोरोनाको संक्रमण देखापरेको र खुला सिमानाका कारण सीमाक्षेत्रमा निगरानी बढाइएको जानकारी दिए ।
 
धनुषाको सिमावर्ती क्षेत्र नगराईन नगरपालिकामा एक ठाउँमा, मुखियापट्टी मुसहरनिया गाउँपालिकाको ३ ठाउँमा, जनकनन्दनी गाउँपालिकाको २ ठाउँमा, महोत्तरीको विभिन्न ११ ठाउँमा, सर्लाहीको सोनवर्षा, पर्साको रक्सौल लगायतका नाकामा कोरोना भाइरस हेल्थ डेस्क सञ्चालनमा ल्याइएको छ ।

उता,  आइतवारदेखि नेपाल भारतका प्रमुख चार नाका बाहेक अन्य सबै नाका बन्द गरिएको छ । कोरोना भाइरस संक्रमणको जोखिम बढेको भन्दै भारतले नेपालसँगका प्रमुख ४ नाका बाहेका सबै नाका बन्द गर्ने निर्णय गरेको हो ।

आजदेखि भारतले वीरगञ्जको रक्सौल, भैरहवाको सुनौली, धनगढीको महेन्द्रनगरस्थित बनबासा र झापाको काँकडभिट्टा बाहेकका सबै नाका बन्द गरेको हो । त्यस्तै सरकारले विदेशबाट नेपाल आउने सबैलाई १४ दिन क्वारेन्टाइनमा राख्ने निर्णय समेत गरेको छ ।

Last modified on 2020-03-18 15:30:10


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts