कोरोना भाइरस नियन्त्रण गर्न सार्कस्तरीय इमरजेन्सी फण्ड, भारतले दियो १० मिलियन डलर



Download our app to get more features

काठमाडौं, २ चैत । कोरोना भाइरस भनेर चिनिने कोभिड १९ को महामारी नियन्त्रणका बारेमा छलफल गर्न सार्क राष्ट्रका सरकार प्रमुखहरुले भिडियो कन्फ्रेन्समार्फत छलफल गरेका छन् । 

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको अग्रसरतामा भएको कन्फ्रेन्सलाई उनैले सञ्चालन गरेका थिए । प्रधानमन्त्री मोदीले भिडियो छलफल सुरु गर्दै कोभिड १९ को नियन्त्रणमा आफ्नो राष्ट्रले चालेका कदमहरुका बारेमा बताएका थिए । रोगको महामारी देखिएका विभिन्न देशबाट १४ सय नागरिकलाई उद्दार गरिएको बताउँदै संक्रमण नियन्त्रणका लागि अधिकतम प्रयास गरिएको बताए । 

कार्यक्रममा प्रधानमन्त्री मोदीले कोभिड १९ नियन्त्रणका लागि इमरजेन्सी फण्ड बनाउन प्रस्ताव गर्दै भारतका तर्फबाट १० मिलियन अमेरिकी डलर सहयोग गर्ने घोषणा गरेका छन् । यस कोषको सहयोगले सार्कस्तरीय प्रकोप नियन्त्रण केन्द्र , रोगलाई लिएर साझा अनुसन्धान संयन्त्र बनाउन उनले प्रस्ताव गरेका छन् । यसका निम्ति भारतको मेडिकल काउन्सिलले सहयोग गर्ने उनको भनाइ छ । मोदीले आगामी दिनमा यसले लिनसक्ने भयावह अवस्थालाई मध्यनजर गर्दै यो समयमा सबै मिलेर काम गर्नुपर्ने बताए । कोष निर्माण र त्यसले गर्ने कार्यका बारेमा सबै सदस्य राष्ट्रमा रहेका भारतीय दूतावासबाट तत्काल काम सुरु हुने बताए । कार्यक्रमा सबै राष्ट्रका सरकार प्रमुख तथा प्रतिनिधिहरुले सम्बोधन गरेका छन् ।  कार्यक्रममा सहभागी सबैले भारतले कोष निर्माण गर्न गरेको निर्णयको स्वागत गरेका छन् । कार्यक्रममा प्रधानमन्त्री केपी ओलीले कोरोना भाइरसका कारण सार्क राष्ट्रको अन्तरदेशीय आवतजावत र व्यापारमा ठूलो घाटा परेको भन्दै यो अवस्थामा सबै मिलेर संयुक्त रुपमा काम गर्नुपर्ने बताए । 


भिडियो कन्फ्रेन्समा ओली र मोदीका साथै अफगानिस्तानका राष्ट्रपति असरफ घानी, माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोली, बंगलादेशकी प्रधानमन्त्री शेख हसिना, भुटानका प्रधानमन्त्री लोटे छिरिंग, श्रीलंकाका राष्ट्रपति गोतापाय राजापाक्षे सहभागी भएका छन् । उनीहरु सबैले कोरोना भाइरसको नियन्त्रणका लागि आफ्ना देशले चालेका कदमहरुका बारेमा बताएका छन् ।  

Last modified on 2020-03-18 15:31:15


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts