चितवनमा आजदेखि दुई चरणमा दादुरा–रुबेला रोग विरुद्धको खोप लगाइँदै

चितवन, २ चैत । चितवनमा आज चैत २ देखि १८ गतेसम्म दुई चरणमा दादुरा–रुबेला रोगविरुद्धको खोप लगाउने कार्यक्रम सञ्चालन हुँदैछ ।
पहिलो चरणअन्तर्गत आजदेखि चैत ७ सम्म भरतपुर महानगरपालिका, कालिका , रत्ननगर, माडी नगरपालिका र इच्छाकामना गाउँपालिकामा खोप लगाइने छ । त्यस्तै, दोस्रो चरणमा १० देखि १४ चैतसम्म खैरहनी नगरपालिकामा र १० देखि १८ चैतसम्म राप्ती नगरपालिकामा खोप सञ्चालन गरिने स्वास्थ्य कार्यालय चितवनका प्रमुख दीपक प्रसाद तिवारीले जानकारी दिए ।
यस अभियानमा नौ महिनादेखि पाँचमुनिका सम्पूर्ण बालबालिकालाई दादुरा–रुबेला रोगविरुद्धको खोप लगाइने भएकाले बालबालिकालाई आफ्ना पाएक पर्ने नजिकको खोपकेन्द्रमा लगेर अनिवार्य रूपमा खोप लगाउन अभिभावकलाई भरतपुर अस्पतालका वरिष्ठ बालरोग विशेषज्ञ युवानिधि बसौलाले आग्रह गरेका छन् ।
त्यस्तै, स्थानीय तहका प्रमुख र स्वास्थ्य शाखाका प्रमुखले महिला स्वयंसेविका, स्वास्थ्यकर्मी, जनप्रतिनिधि, टोल र समूहका प्रतिनिधिमार्फत गाउँ–टोलमा यस अभियानमा बालबालिकालाई सहभागी गराउन निमन्त्रणा कार्ड बाँडिएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ । आवश्यक प्रचार–प्रसार र सहयोगको निम्ति सबैमा कार्यालयले अपिल समेत गरेको छ ।