भरतपुर अस्पतालको आइसोलेशनमा राखेको व्यक्तिमा कोरोना नभएको पुष्टि

What's This?


Download our app to get more features

चितवन, १ चैत्र । भरतपुर अस्पतालको आइसोलेशनमा राखेको व्यक्तिमा कोरोना भाइरसको संक्रमण नभएको पुष्टि भएको छ ।

बिहिवार नमूना परीक्षणका लागि केन्द्रीय प्रयोगशालामा पठाइएको र शुक्रवार रिपोर्ट नेगेटिभ आएको अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । 

विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणको आशंकामा बिहिवार एकजनालाई भरतपुर अस्पतालले आइसोलेशनमा राखेको थियो । झन्डै दुई साताअघि अष्ट्रेलियाबाट फर्किएका ती व्यक्तिको लक्षण कोरोनासँग मिल्ने देखिएकाले छुट्टै राखेर परीक्षण एवं उपचार गरिएको थियो । ती व्यक्तिको परिचय खुलाइएको छैन । 

नेपालमा समेत यसको जोखिम रहेको भन्दै कोरोना देखिएको भन्ने हल्लाको पछि नलाग्न र उच्च सर्तकता अपनाउन भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट (मेसु) श्रीराम तिवारीले सबैमा अनुरोध गरेका छन् ।

यसअघि अस्पतालमा ५ शय्याको आइसोलेसन वार्ड रहेकोमा सम्भावित कोरोना (कोभिड–१९) भाइरस संक्रमणको जोखिमलाई लक्षित गर्दै बिहिवारदेखि १९ शैय्याको आइसोलेसन वार्ड स्थापना गरिएको छ । यस्तै अस्पतालले तीन सदस्यीय कोभिड –१९ आउटब्रेक म्यानेजमेन्ट टीमलाई पनि विस्तार गरी १३ सदस्यीय बनाएको छ ।

भरतपुर अस्पतालमा हालसम्म तीन जनाको कोरोना परीक्षण भएको र तीनै जनाको रिर्पोट नेगेटिभ आएको अस्पताल स्रोतले जनाएको छ । यसअघि भरतपुर अस्पतालमा कोरोनाको विरामी भेटिएको भन्ने हल्लाले सर्वसाधारणमा एक किसिमको त्रास छाएको थियो । हालसम्म कसैमा पनि कोरोना भाइरसको संक्रमण भएको पुष्टि नभएको अस्पतालले जनाएको छ ।

Last modified on 2020-03-15 07:21:38


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts