जनकपुरमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १४ पुग्यो

जनकपुर, १ चैत्र । जनकपुरमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ७ मुसहर बस्तीमा शुक्रबार राति र शनिबार बिहान गरी तीन जनाको मृत्यु भएसँगै मृतकको संख्या १४ पुगेको हो । यसअघि क्षिरेश्वरनाथ नगरपालिकामा एक साताको अवधिमा ११ जनाको मृत्यु विषाक्त मदिरा सेवन कै कारण भइसकेको छ ।
शुक्रबार राति ज्यान गुमाउनेहरुमा बनारसी सदा र मिथिला सदा छन् । शनिबार विहान झगरु सदाको ज्यान गएको छ । यी सबैको उमेर ५० वर्ष हाराहारी रहेको स्थानीय किशोर साहले जानकारी दिए ।
क्षिरेश्वरनाथ नगरपालिका वडानम्बर २ रमदैयामा गत बिहीबार र शुक्रबार आठ जनाको विशाक्त घरेलु मदिरा सेवनका कारण मृत्यु भएको थियो । एक जना भेन्टिलेटरमा उपचारत छन् भने अन्य पाँच जनाको सामान्य अवस्थामा उपचार भइरहेको छ ।
जिल्ला प्रशासन कार्यालय धनुषाका अनुसार उनीहरुले महोत्तरीको सितापुर भंगाहामा उत्पादित घरेलु मदिरा सेवन गरेको पाइएको छ । त्यसैले त्यहाँका सात जनालाई अन्तर जिल्ला समन्वय गरी पक्राउ गरेर आवश्यक अनुसन्धान सुरु गरिएको धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कँणेलले जानकारी दिए ।