'प्रदेश ५ मा कोरोना भाइरसको प्रवेश रोक्न सरकारको 'विशेष तयारी'



Download our app to get more features

रुपन्देही, १ चैत । प्रदेश ५ का सामाजिक विकास मन्त्री सुदर्शन बरालले भारतसँग सीमा जोडिएका प्रदेशका सबै नाकामा हेल्थ डेस्क राखिएको भन्दै कोरोना भाइरस विरुद्ध प्रभावकारी कदम चालिएको दावी गरेका छन् ।

सामाजिक बिकास मन्त्रालयले बुटवलमा शुक्रवार आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री बरालले नेपालमा भेला, सभा नै रोक्ने गरि कोरोनाको प्रकोप नरहेको बताए । उनले कोरोनाको प्रकोप रोक्न सचेत हुनुपर्ने भएपनि सिधै चीन वा अन्य मुलुकबाट भाइरस बोकेर नआउँदासम्म डराउन आवश्यक नरहेको बताए । उनले प्रदेशको बाँके, दाङ र रुपन्देहीमा सुबिधा सम्पन्न क्वाराइन्टाइन स्थापना गर्ने तयारी भइरहेको जानकारी गराउंदै क्वाराइनटाइन ब्यवस्थापनका लागि सुरक्षा निकायसँग छलफल सुरु गरिएको जानकारी दिए । सुरक्षा संयन्त्रसँग भएको अस्पतालहरुलाई जनशक्ति सहित क्वाराइनटाइनका लागि प्रयोग गर्न सकिने मन्त्री बरालको भनाइ छ । चीनमा समेत जनमुक्ति सेनाका स्वास्थ्यकर्मीले प्रभावितको उपचार गरेको भन्दै उनले नेपालमा सुरक्षा संयन्त्रको जनशक्ति सहित शिविलियन जनशक्ति समेत उपचारमा परिचालन गर्न सकिने बताए ।

प्रदेश ५ स्वास्थ्य विभाग निर्देशनालयका निर्देशक डा. विनोद कुमार गिरीले बजारमा हल्ला फैलिएजस्तो नेपालमा कोरोनाको जोखिम नभएको जिकिर गरे । कोरोना भाइरस हावाको माध्यमबाट नफैलिने हुँदा सीमा क्षेत्र, विमानस्थल लगायतका ठाउँमा सतर्कता अपनाए सजिलै बच्न सकिने गिरीको भनाइ छ । 

सामाजीक बिकास मन्त्रालय अस्पताल बिकास महाशाखाका निर्देशक डाक्टर उमाशंकर प्रसाद चौधरीले प्रदेश ५ मा रहेका हेल्थडेक्सको अवस्था र भैरहेको काम बारे जानकारी गराए । महाशाखाको तथ्याङ्क अनुसार विहिबारसम्म देशभर ९ हजार ४ सय ३४ जनाको स्वास्थ्य परिक्षण गर्दा कुनै पनि व्यक्तिमा संक्रमण भेटिएको छैन । यसैगरी प्रदेश ५ भित्र सोही मितिसम्म २ हजार ८ सय जनाको स्वास्थ्य परीक्षण गर्दा कुनै पनि संक्रमित व्यक्ति फेला नपरेको चोधरीले जानकारी गराए ।

कोरोना भाइरसका संक्रमितहरुमा देखिने प्रमुख लक्षणहरु श्वासप्रश्वासमा समस्या हुने, उच्च ज्वरो आउने तथा सामान्य रुघा खोकिको जस्तै लक्षण देखा पर्ने लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. राजेन्द्र खनाल बताए । संक्रमित व्यक्तिको उपचारका लागि ८० प्रतिशत बिरामीलाई घरमा नै राखेर सामान्य उपचारपछि निको हुने, १५ प्रतिशत विरामीलाई अक्सिजनथेरापी गराएपछि निको हुने तथा ५ प्रतिशत बिरामीलाई मात्रै भेन्टिलेटर थेरापी गर्नुपर्ने हुँदा कोरोना लागि हालेपनि आत्तिहाल्नु पर्ने अवस्था नआउने उनले बताए । हालसम्म नेपालमा कोरोना संक्रमिण पुष्टि भएका भनिएका एकजनाको उपचारपछि निको भैसकेको तथा एक जनाको कोरोना नै हो भन्ने एकिन नभएको हुँदा सशंकित हुन जरुरी नभएको उनले उल्लेख गरे ।

यसैगरी प्रादेशीक अस्पतालकै फिजिसियन डा. सुदर्शन थापाले हावाको माध्यमबाट रोग नफैलने हुँदा निरोगी व्यक्तिहरुले मास्क लगाउनै पर्ने जरुरी नभएको सुझाव दिए । ‘हाम्रो हातमा यदि किटाणुहरु छन् भने हामीले आँखा, मुख तथा नाकमा हात लैजाँदा मात्रै उनिहरु हाम्रो शरिरमा प्रवेश गर्ने हुन् ।’

उनले अगाडी भने ‘निरोगी व्यक्तिहरुले मास्क नलगाएको नै राम्रो हुन्छ, मास्क लगायौं भने बारम्बार हाम्रो हात झन बढी मुखमा जान्छ जसले गर्दा संक्रमण हुने झन बढी सम्भावना हुन्छ ।’ संक्रमणबाट बच्न सकेसम्म भिडभाडमा नजाने, स्यानेटाइजरको प्रयोग गरी बारम्बार हात धोईराख्ने तथा कसैसँग पनि हात नमिलाउन उनले सुझाब दिए । 

Last modified on 2020-03-14 10:16:11


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts