सुदूरपश्चिमका सबै जिल्ला अस्पतालमा आइसोलेसन वार्ड बनाउने निर्णय

धनगढी, ३० फागुन । सुदूरपश्चिम प्रदेशले कोरोना भाइरसबाट जोगिन र फैलिहाले नियन्त्रण गर्न विभिन्न निर्णय गरेको छ । सुदूरपश्चिममा हालसम्म कसैलाई पनि कोरोना संक्रमण नदेखिए पनि पूर्वतयारी मजबुत बनाउने निर्णय प्रदेश सरकारले गरेको छ ।
सरकारले सम्भावित जोखिमबाट बच्न सबै जिल्ला अस्पतालमा आइसोलेसन वार्ड र क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको छ । यस्तै जिल्लाका सीमा नाकामा स्थापना गरिएका हेल्थ डेस्कलाई प्रभावकारी बनाउने निर्णय गरेको छ ।
प्रदेशभर ११ हेल्थ डेस्क, ४७ आइसोलेसन बेड
स्वास्थ्य निर्देशनालय डोटीका अनुसार ९ जिल्ला रहेको सुदूरपश्चिम प्रदेशमा ११ वटा नाकामा स्वास्थ्य सहायता कक्ष (हेल्थ डेस्क) स्थापना गरिएको छ । जसमध्ये कैलालीमा तीन, कञ्चनपुरमा दुई, डडेल्धुरामा दुई, दार्चुलामा तीन, बैतडीमा एक वटा हेल्थ डेस्क स्थापना भएका छन् । हेल्थ डेस्क मध्ये ठूला नाकामा चार स्वास्थ्यकर्मी र साना नाकामा दुई स्वास्थ्यकर्मी खटाइएको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
यस्तै प्रदेशभरका १८ वटा अस्पतालमा ४७ वटा आइसोलेसन बेड स्थापना गरिएको छ । जहाँ कोरोनाको आशंका लागेका विरामीलाई राखेर निगरानी गरिनेछ । निर्देशनालयले कोरोना जोखिमबारे जनस्तरमा चेतना फैलाउन सञ्चार माध्यमबाट विभिन्न सचेतनामुलक सन्देश प्रसारण तथा प्रकाशित गर्नुको साथै पम्प्लेटहरु वितरण गरेको छ ।
अवैध नाकामा सरकारको परेन नजर
सुदूरपश्चिमसँग सीमा जोडिएको भारत उत्तर प्रदेशको राजधानी लखनऊमा एक महिलामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । धनगढीबाट ६ घण्टाको मात्रै दुरीमा रहेको उक्त स्थानमा कोरोना भेटए पनि प्रदेशभर रहेका साना नाका तथा घाटमा भने स्वास्थ्य सहायता कक्ष स्थापना भएका छैनन् र पूर्वसतर्कता अपनाइएको छैन ।
ती नाकाहरुबाट दिनहुँ मानिस आवतजावत गर्ने भएकाले कोरोना भाइरसका संक्रमत भित्रने सम्भावना छ । भारतसँग सीमा जोडिएका कैलाली, कञ्चनपुर, डडेल्धुरा, बैतडी र दार्चुलामा कतिपय अवैध नाका समेत छन् । ती स्थानबाट नेपाली भारत ओहारदोहोर गर्ने गछन् । औपचारिक नाकामा सावधानी अपनाए पनि अवैद्य नाकामा सरकारको नजर परेको छैन।
चीनको वुहान शहरबाट फैलिएको कोभिड–१९ अर्थात कारोना भाइरसबाट विश्वभर चार हजार नौ सय ८४ जनाको मत्यु भइसकेको छ । हालसम्म एक लाख ३४ हजार आठ सय २९ जनामा कोरोना संक्रमण फैलिसकेको छ । संक्रमित मध्ये ७० हजार तीन सय ९६ संक्रमित ठीक पनि भइसकेको वल्डोमिटरको तथ्यांक छ ।
नेपालमा भने हालसम्म एक जनामा मात्र कोराना देखिएको थियो । उनी पनि ठिक भएर घर फर्किसकेको छन् । नेपालले भाइरसबाट जोगिन विभिन्न सर्तकता अपनाइरहेको छ । नेपालभरका नाकामा हेल्थ डेस्क स्थापना गर्नेदेखि अस्पतालहरुमा आइसोलेसन वार्ड स्थापना गरिरहेको छ ।