कोरोना भाइरसलाई लिएर नेपालले भारतसँगको नाका घटाउने, पर्यटक भिसामा रोक



Download our app to get more features

काठमाडौं, ३० फाल्गुन । विश्वभरी विस्तार भइरहेको कोरोनाभाइरस सङ्क्रमणको जोखिमलाई ध्यानमा राखेर नेपालले विभिन्न थप प्रतिबन्धहरू घोषणा गरेको छ ।

अबेर राती लिइएको निर्णयले विदेशी पर्यटकहरूसँगै गैरआवासीय नेपाली मुख्य रूपमा प्रभावित हुनेछन् ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरसको सङ्क्रमणलाई विश्वव्यापी महामारी घोषणा गरेपछि उपप्रधान एवम् रक्षामन्त्री इश्वर पोखरेलको नेतृत्वको उच्चस्तरीय समितिको बैठक बसेको थियो ।

सार्वजनिक गरिएको निर्णयमा १९ वटा बुँदा छन् । जसमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको छाप छ ।

भिसामा रोक, विकल्प के ?
जसको पहिलो बुँदामा विदेशीहरूलाई दिइँदै आएको अन-अराइभल भिसा ३० एप्रिलसम्मको निम्ति स्थगित गरिएको उल्लेख छ। उक्त निर्णय १४ मार्चको मध्यरातबाट लागु हुनेछ ।

भिसा लिइसकेका विदेशीले नेपाल आइपुग्ने मितिभन्दा बढीमा सात दिनभित्र गरिएको स्वास्थ्य परीक्षणको प्रमाण–पत्र प्रस्तुत गर्नुपर्नेछ ।

गैरआवासीय नेपालीहरूलाई परिचय पत्रका आधारमा दिइने त्यस्तो भिसा पनि सोही अवधिको निम्ति स्थगित गरिएको छ । तर, अत्यावश्यक कामको निम्ति नेपाल आउनुपर्दा उनीहरूले नेपाल आइपुग्ने मितिभन्दा बढीमा सात दिनभित्रको स्वास्थ्य जाँच प्रमाण पत्र संलग्न गरेर सम्बन्धित देश वा नजिकको नेपाली नियोगमा भिसा आवेदन दिन सक्ने छन् ।

मार्च १४ तारिखबाट नेपाल आउने विदेशी, नेपाली वा गैरआवासीय नेपालीले १४ दिनसम्म आफै अलग वा घरभित्रै क्वारन्टीनमा बस्नुपर्ने छ ।

विदेशीलाई सेल्फ क्वारेन्टाइन र नेपाली तथा गैरआवासीय होम क्वारन्टीनमा रहन भनिएको छ । सरकारले विदेशमा रहेका नेपालीलाई अत्यावश्यक काममा बाहेक यात्रा नगर्न र विदेशमा रहँदा उच्च सतर्कता अपनाउन पनि आग्रह गरेको छ ।

भारतसँगको नाका खुम्च्याइने
सरकारले नेपाल र भारतबीच हुने आवागमनलाई पनि व्यवस्थित गर्ने निर्णय गरेको छ ।

निर्णयमा ‘भारतीय पक्षसँग समन्वय गरी निश्चित विन्दुहरूबाट मात्र यात्रु आवागमन गर्ने व्यवस्था मिलाउने’ भनिएको छ ।

त्यसको निम्ति अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति र गृह मन्त्रालयसँग सहकार्य गर्ने जिम्मेवारी परराष्ट्र मन्त्रालयलाई दिइएको छ । त्यस्तै सरकारले अर्को सूचना जारी नहुँदासम्मका निम्ति वैदेशिक रोजगारीमा जान दिइने श्रम स्वीकृति पनि स्थगित गरेको छ ।

सरकारले यो वर्षको वसन्त ऋतुमा पर्वतारोहण गर्न जारी गरिएका वा गरिने अनुमतिपत्रका साथै नेपालमा आयोजना हुने अन्तराष्ट्रिय सभा सम्मेलन स्थगित गरेको छ ।

ठूलो सङ्ख्यामा मानिसहरू भेला हुने सिनेमा हल, सभा समारोह, सामाजिक कार्य र मेला महोत्सवमा सहभागी नहुन सर्वसाधारणलाई सरकारले आग्रह गरेको छ ।

 


बीबीसी

Last modified on 2020-03-13 06:37:31


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts