मातृशिशु रुग्णता तथा मृत्यु न्यूनिकरणकालागि प्रदेश ५ सरकारले विशेष कार्यक्रम सञ्चालन गर्ने



Download our app to get more features

रुपन्देही, २९ फाल्गुन । प्रदेश ५ सरकारले मातृशिशु रुग्णता तथा मृत्यु न्यूनिकरणकालागि विशेष कार्यक्रम सञ्चालन गर्ने भएको छ । 

सामाजिक विकास मन्त्रालयले प्रदेशका १२ जिल्लामा ३ सय ६३ वटा वर्थिङ् सेन्टर सञ्चालन भएपनि उपलब्धी खासै नदेखिएकाले ती वर्थिङ् सेन्टरलाई राम्रो उपकरण सहितको दक्ष जनशक्तियुक्त बनाउनकालागि विशेष कार्यक्रम सुरु गर्न लागेको हो ।

बुधबार सामाजिक विकास मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा प्रदेश पाँचका सामाजिक विकास मन्त्री सुदर्शन बरालले प्रदेशमा मातृ शिशु स्वास्थ्यलाई सुरक्षित बनाउन संघीय सरकारले प्रदान गरेको प्राप्त १० करोड रुपैयाँ विशेष अनुदानबाट प्रदेशका ग्रामिण क्षेत्रलाई समेट्नेगरी नर्सिङ् कर्मचारीका लागि एसबिए तालिम, मेडिकल अफिसरकालागि एड्भान्स तालिम, ग्रामिण अल्ट्रासाउण्ड तालिम प्रदान गरिने बताए । 

मन्त्री बरालले मन्त्रालयबाट सामाग्री लैजाने अनि बोरामा थुप्राने  त्यस्ता  स्वास्थ्य केन्द्रलाई सामग्री उपलब्ध नगराउने बताए ।

मन्त्री बरालले म्याटनल डेलीभरी, वेवी वार्मर, सब्सन मेसिन सहित प्रसुती हुँदा तथा प्रसुती भईसकेपछि आमा बच्चाको स्वास्थ्य सुरक्षाका लागि आवयक पर्ने २६ प्रकारका उपकरण ग्रामिण क्षेत्रका वर्थिङ् सेन्टरलाई उपलब्ध गराईने बताए ।

कार्यक्रममा प्रदेश स्वास्थ्य तालिम केन्द्र बुटवलका निर्देशक महेश्वर श्रेष्ठले प्रदेशमा स्वास्थ्य संस्थामा प्रसुती हुने महिलाको संख्या ५७ प्रतिशत रहेकोे किशोरावस्थामै गर्भवती हुनेको संख्या १७ प्रतिशत रहेको संस्थागत प्रसुती हुने दरलाई बढाउने र मातृ शिशु रुग्णता तथा मृत्यु न्यूनिकरण गर्ने लक्ष्यका साथ कार्यक्रम सञ्चालन गर्न लागिएको बताए ।

 निर्देशक श्रेष्ठले कर्मचारी समायोजन अगाडी प्रदेश पाँचमा झण्डै १ हजार ७ सय नर्स कार्यरत रहेको र ७सय ५० जनाले मात्रै एसबिए तालिम लिएको समेत बताए । उनले यो जनशक्ति सुरक्षित प्रसुतीकालागि ज्यादै न्यूनभएकाले यो वर्ष सामाजिक बिकास मन्त्रालयले २सय ९० जना नर्सिङ् कर्मचारीलाई एसबिए तालिम प्रदान गर्ने जानकारी समेत गराए ।
 
त्यस्तै १२ जना मेडिकल अफिसरहरुको लागि एड्भान्स एसबिए तालिम र ३० जनालाई ग्रामिण अल्ट्रासाउण्ड तालिम प्रदान गरिने आपूर्ति व्यबस्थापन केन्द्रका निर्देशक दिनेश चापागाईले बताए । तालिम प्राप्त कर्मचारीले ग्रामिण गर्भवती महिलाको मातृ र शिशुको अवस्था अध्ययन गर्ने र सामान्य प्रकृतिको भएका गर्भवतीलाई नजिकैको वर्थिक सेन्टरमा जान सल्लाह दिने त्यसबाहेक कुनै प्रकारको जोखिम देखिन्छ भने उनीहरुलाई सोही अनुसारको सुविधा भएको अस्पतालमा जान दिने निर्देशक चापागाई बताए ।

मन्त्रालयले ग्रामिण वर्थिङ् सेन्टरलाई वेल ईक्युप्ट गर्नकालागि ३ सय ३५ वर्थिङ् सेन्टरमा अत्यावश्यकीय ईक्युपमेन्ट प्रदान गर्ने तयारी गरेको हो ।जसमा एउटा वर्थिङ् सेन्टरलाई उपलब्ध गराईने सेटमा म्याटनल डेलीभरी, वेवी वार्मर, सब्सन मेसिन सहित २६ प्रकारका उपकरण रहने छन । त्यस्तै ग्रमािण क्षेत्रमै करिव २४ वटा पोर्टेवल अल्ट्रासाउण्ड मेसिन पनि उपलब्ध गराउने छ ।

जसका माध्यमबाट तालिमप्राप्त जनशक्तिले गर्भवती आमा र बच्चाको अवस्था पत्ता लगाउन सक्नेछन् । यो कार्यक्रम सञ्चालनकालागि पनि स्थानीय सरकार अग्रसर हुनु पर्नेछ । स्थानीय सरकारको माग र त्यस क्षेत्रको आवश्यकताको आधारमा मात्रै सम्बन्धित स्थानीय तहमा यो कार्यक्रम सञ्चालन गरिने मन्त्री बरालले बताए ।

कार्यक्रममा स्वास्थ्य निर्देशक डा बिनोद कुमार गिरी स्वास्थ्य महाशाखा प्रमुख डा उमाशंकर प्रसाद चौधरी लगायतको सहभागी रहेको थियो । कार्यक्रमको संञ्चालन समाजिक बिकास मन्त्रालय स्वास्थ्य महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत शैलेन्द्र पान्डेले संञ्चालन गरेका थिए ।


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts