कोरोना संक्रमण नियन्त्रणमा तदारुकता देखाउन राष्ट्रिय युवा संघद्वारा स्वास्थ्य मन्त्रीको ध्यानाकर्षण

काठमाडौं, २७ फागुन । राष्टिय युवा संघ नेपालले विश्व मानव समुदायको टाउको दुखाईको विषय बनिरहेको कोरोना भाइरस (कोभिड–१९) बाट नेपाललाई सुरक्षित राख्न माग गर्दै स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालको ध्यानाकर्षण गरेको छ ।
खुला सीमामा अनेक नाका रहेको भारत र चीनलगायत सय भन्दा बढी मुलुकमा देखिएको संक्रमण नेपालमा हालसम्म नदेखिनु सुखद् भए पनि जुनसुकै बेला फैलन सक्ने संघको भनाइ छ । यस्तो अवस्थामा ढुक्क भएर बस्न नहुने भन्दै तुरुन्त आवश्यक पहलकदमी चाल्न जोड दिएको छ ।
युवा संघको ध्यानाकर्षण पत्र बुझ्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालले नागरिकहरू सेल्फ क्वारेनटाइनमा बस्नुपर्ने बताएका छन्। ज्वरो आएमा परीक्षण गर्ने व्यवस्था मिलाइएको र कोरोनाभाइरस संक्रमण शंका लागेमा राज्यले नै उपचारको व्यवस्था मिलाउने उनले बताए। उनले भने, अब सेल्फ क्वारेनटाइनमा मानिसहरू बस्नुपर्छ, के गर्ने के नगर्ने भन्ने प्रोटोकल हामीले तयार पारिसकेका छौं। घरमा बस्दा एक अर्का सदस्यसँग कति दूरीमा बस्नेलगायतका कुरा प्रोटोकलमा छ।’