विदेशमा रहेका तीन नेपालीमा कोरोनाको संक्रमण, कुवेतबाट फर्केका युवा पाटनको आइसोलसन वार्डमा



Download our app to get more features

काठमाडौं, २७ फाल्गुन । नेपालमा हालसम्म कोरोना भाइरसका कारण कोहीपनि संक्रमित नभएको अवस्थामा विदेशमा रहेका ३ जना नेपालीमा हालसम्म कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।

संयुक्त अरब इमिरेट्स (यूएई) मा दुई जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ भने अस्ट्रेलियामा एक जना नेपालीमा कोरोना भाइरसको संक्रमण देखिएको छ ।

दुबईमा दुई नेपालीसहित यो भाइरसबाट संक्रमित हुनेको संख्या ५९ पुगेको त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयकाअनुसार नयाँ संक्रमितमध्ये चार जना यूएईका छन् भने दुई नेपाली, तीन इटली, दुई बंगलादेशीका साथै रुस, सिरिया र भारतका एकएक जना नागरिक छन् ।

यद्यपि उनीहरु मध्ये १२ जना निको भएर घर फर्किएका छन् । 

यस्तै अष्ट्रेलियाको तास्मानिया राज्यस्थित होबार्टमा एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण भएको छ । उनलाई अस्पताल भर्ना गरिएको छ भने उनीसँग नजिकको सम्पर्कमा रहेका चार जनालाई पनि क्वारेन्टाइनमा राखिएको छ ।

फेब्रुअरी २६ मा नेपालबाट सिंगापुर र सिड्नी हुँदै होबार्ट आएका एक नेपाली विद्यार्थीलाई कोरोना भाइरसको संक्रमण देखिएको हो । 

कतारले प्रवेशमा रोक लगायो
यसैबीच कतारले नेपालसहित १४ मुलुकका नागरिकलाई प्रवेशमा रोक लगाएको छ । नेपालीको प्रमुख रोजगार गन्तव्य मुलुकको रुपमा रहेको कतारले कोरोना भाइरसप्रति सतर्कता अपनाउँदै १४ देशका नागरिकलाई प्रवेशमा रोक लगाएको हो ।

हालसम्म कतारमा १२ जनामा कोरोनाको लक्षण भेटिएको छ ।

पाटन अस्पतालको आइसोलसनमा नेपाली
कुवेतबाट फर्किएका एक नेपालीलाई कोरोना भाइरस संक्रमणको आशंकामा पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । 

सोमबार बिहान त्रिभुवन विमानस्थलमा अवतरण गरेका उनमा कोरोना भाइरस संक्रमणको लक्षण देखिएपछि पाटन अस्पताल लगिएको थियो ।
उनको नमुना परीक्षण भएको छैन । विमानस्थलमा शंकास्पद विरामी आएमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा लगिने भएपनि कुवेतबाट फर्किएका ती नेपालीलाई भने पाटन लगिएको हो ।

यता सरकारले भने थप ३ तीन मुलुकका नागरिकलाई अनअराइभल भिसामा रोक लगाएको छ । कोरोना भाइरसको संक्रमण देखिएका फ्रान्स, जर्मनी र स्पेनका नागरिकलाई अनअराइभल भिसामा रोक लगाएको अध्यागमन विभागका निर्देशक रामचन्द्र तिवारीले हाम्रो डाक्टर न्यूजलाई बताए ।

उनले भने, ‘कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदै गएपछि थप ३ मुलुकका लागि अनअराइभल भिसामा रोक लगाइएको हो । जसले यो भाइरस नेपाल भित्रिने सम्भावना कम हुन्छ ।’

गत साता सरकारले चीन, हङकङ, इरान, इटाली, कोरिया र जापानका नागरिकलाई नेपाल भ्रमण गर्दा दिइँदै आएकोअन अराइभल भिसामा रोक लगाएको थियो । अब आजदेखि ८ देशका नागरिक नेपाल आउने पाउने छैनन ।

Last modified on 2020-03-10 09:17:56


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts