पाल्पाको तानसेनमा डायलासिस सेन्टर, ३ जिल्लाका नागरिक लाभान्वित हुने

रुपन्देही, २६ फाल्गुन । गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्था, बुटवलले पाल्पाको तानसेनमा स्थापना गरेको पाल्पा सामुदायिक डायलाईसिस सेन्टरमा सेवा शुभारम्भको तयारी पूरा भएको छ ।
रोटरी क्लब अफ सेन्ट्रल बुटवलको आर्थिक सहयोगमा स्थापना गरिएको डायलासिस सेन्टरले आउँदो चैत ७ गतेदेखि सेवा शुभारम्भ गर्ने तयारी गरेको हो ।
गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले सेन्टरमा भवन निर्माण, डायलासिस मेशिन जडान लगायतका सम्पूर्ण कामहरु पुरा भएकोले ७ गतेदेखि सेवा शुभारम्भ गर्न लागिएको जानकारी दिए ।
हाल १० वटा मेशिनबाट बिरामीहरुको डायलासिस गरिने र आवश्यकताको आधारमा थप मेशिन समेत जडान गरिने रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष राजेन्द्र कार्कीले बताए । पाल्पा सामुदायिक डायलाईसिस सेन्टरका संयोजक बाबुराम बोहराले तानसेनमा डायलासिस सेवा शुभारम्भ भएपछि बिरामीहरुको आर्थिकसँगै समयको बचत हुने छ भने डायलासिसको लागि पालो पर्खिनुपर्ने अवस्थाको समेत अन्त्य हुने बताए ।
बन्दीपोखरामा स्थापना गरिएको सेन्टरबाट पाल्पा, गुल्मी र स्याङजा क्षेत्रका मिर्गौलाका बिरामीहरु लाभान्वित हुने छन् ।
करिब ५ करोडको लागतमा स्थापित उक्त सेन्टरबाट दैनिक ३० जना बिरामीको नियमित डायलासिस गर्न सकिने स्वास्थ्य संस्थाले जनाएको छ ।
हाल पाल्पा गुल्मी लगायतका जिल्लाबाट ६४ जना बिरामी नियमित डायलासिसको लागि बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा आउने गरेका छन् । गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाले विगत ५ वर्षदेखि बुटवल स्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पतालमा २० वटा मेसिनबाट २४ घन्टा सेवा प्रदान गर्दै आएको साथै विगत १ महिना देखि दाङ्गको लमहीमा १० वटा मेसिन जडान गरी सेवा प्रदान गर्दै आएको छ ।