कालोबजारीको आशंकामा चितवनमा मास्कको अनुगमन तीव्र

चितवन ,२६ फाल्गुन । कोरोना भाइरसको त्रासले फार्मेसी तथा सर्जिकल हाउसले मास्क लुकाउन थालेको र मूल्यसमेत बढी लिएको गुनासो आउन थालेपछि चितवनमा अनुगमन तीव्र बनाएको छ ।
बजारमा कालोबजारी भएको हुन सक्ने आशंकामा स्वास्थ्य कार्यालय र जिल्ला प्रशासन कार्यालय चितवनको संयुक्त टोलिले शुक्रवारदेखि अनुगमनलाई तीव्रता दिएको हो ।
अनुगमनको क्रममा अधिकांश फार्मेसीमा मास्क नभएको आफूहरुले पाएको स्वास्थ्य कार्यालय चितवनका प्रमुख दिपक प्रसाद तिवारीले हाम्रो डक्टर न्युजलाई जानकारी दिए । केही हस्पिटल फार्मेसीले भने अब ५-७ दिन अप्रेशनको लागि मात्र पुग्ने माक्स रहेको गुनासो उनीहरूले गरेको बताए । चितवनका दुई ठुला मेडिकल कलेज (चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साईन्सेस्)ले आफ्नो लागि आवश्यक पर्ने कपडाको माक्स आफै तयार गर्न शुरू गरेको पाईएको उनको भनाइ छ ।
बजारमा सर्जिकल माक्सको कृत्रिम अभाव भएको भन्दै अनुगमनलाई अझै तिव्रता दिने उनले जानकारी दिए । उनले अनुगमनको क्रममा मास्क कालोबजारी भएको थाहा पाएमा कानुनी कारबाही गर्ने पनि जानकारी दिए ।
कालोबजारी गर्ने उद्देश्यले माक्स लुकाएको आशंकामा जिल्लाका प्रमुख स्थानमा रहेका फार्मेसी तथा सर्जिकल हाउसहरुको गोदाममा प्रशासनले मास्क केन्द्रित अनुगमन थालेको हो ।