धनगढी विमानस्थलमा कोरोना संक्रमितलाई भित्रिन नदिन चेकजाँचमा कडाइ

धनगढी, २६ फाल्गुन । धनगढी विमानस्थलमा कोरोना भाइरसको संक्रमित भित्रिन नदिन भन्दै चेकजाँचमा कडाइ गरेको छ ।
सुदूरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयले धनगढी विमानस्थलमा गत माघ २ गते स्थापना गरेको स्वास्थ्य सहायता कक्षमा नियमित स्वास्थ्य परीक्षण हुन थालेको छ । मन्त्रालयले कोभिड–१९ कोरोना भाइरसको संक्रमितलाई भित्रिन नदिन चेकजाँचका लागि चार जना स्वास्थ्यकर्मीलाई विमानस्थलमा खटाएको छ ।
स्वास्थ्यकर्मीहरुले दुई चरणमा काठमाडौँबाट धनगढी आएका यात्रुहरुको विमानस्थलमा परीक्षण गर्दै आएका छन् । विमान स्थलमा खटिएका सिनियर अहेव कैलाश डगौरा थारुले कोरोना भाइरसको स्क्यान गर्ने गरेको बताए। ‘चार जना जनशक्ति विमानस्थलमा छ’ उनले भने, ‘विमानस्थलमा आएका सबै यात्रुहरुको हामी परिक्षण गछौ। शंका लागेमा सेती प्रादेशिक अस्पतालमा पठाउँछौ । त्यपछि १४ दिनसम्म सेतीको आइसोलेसन वार्डमा राखिन्छ ।’
स्वास्थ्य सहायता कक्षमा अहिलेसम्म ७ हजार २ सय ४७ जनाको स्वास्थ्य परीक्षण गरिएको छ । ती मध्ये २ हजार २ सय ७२ महिला र ३ हजार ८ सय ७५ पुरुष रहेको तथ्याङ्क छ ।
चेकजाँच गरिएका मध्यये अहिलेसम्म एक जनामा पनि कोरोना संक्रमण देखिएको छैन । तर धनगढीबाट काठमाडौँ जाने यात्रुहरुको भने परिक्षण गर्ने गरिएको छैन ।