नेपालमा बिदा मनाएर अष्ट्रेलिया फर्किएका एक विद्यार्थीमा कोरोना संक्रमण

एजेन्सी, २५ फागुन । गत २६ फेब्रुअरीमा नेपालबाट बिदा मनाएर अष्ट्रेलिया फर्किएका २० वर्षे एक विद्यार्थीमा कोरोना संक्रमण देखिएको पुष्टि भएको छ । अष्ट्रेलियाको तास्मानियास्थित स्वास्थ्य अधिकारीहरुले उनको संक्रमणबारे पुष्टि गर्दै आइसोलेसनमा राखेर उपचार भइरहेको जानकारी दिएका हुन् ।
अष्ट्रेलियाको स्थानीय समाचार एजेन्सी सेभेनन्यूज डट कम डट एयूका अनुसार ती विद्यार्थी २६ फेब्रुअरीमा नेपालबाट सिंगापुर, सिड्नी हुँदै होबार्ट पुगेका थिए । उनलाई २७ फेब्रुअरीमा रुघाखोकी लाग्दा देखिने लक्षण देखिएको तर उनले ६ मार्चमा मात्रै हेल्थ हटलाइनमा सम्पर्क गरेका थिए । उनको शुक्रबार रोयल होबार्ट अस्पतालमा परीक्षण गरिएको र अलग राख्न (सेल्फ आइसोलेसन) आग्रह गरिए पनि उनले पालना नगरेको बताइएको छ । उनलाई कोरोना संक्रमणको पुष्टि शनिबार भएको हो ।
तास्मानियाका जनस्वास्थ्य सेवाका प्रमुख डा. मार्क भेइचले सेल्फ आइसोलेसनमा राख्न गरिएको सल्लाह बेवास्ता गर्नुलाई ‘अस्विकार्य’ बताएका छन् । उनले भनेका छन्, ‘मैले यस्तो स्थितीमा तास्मानियाका सबै जनतालाई जिम्मेवार रहन आग्रह गर्दै आएको छु ।’ उनी अष्ट्रेलियन आइडल कलेजका विद्यार्थी हुन् ।