पुरानो मेडिकल कलेज भरतपुरमा छुट्टै हेल्थ डेक्स सञ्चालन

चितवन,२५ फागुन । भरतपुरस्थित पुरानो मेडिकल कलेज (सिएमएस)ले कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९)बाट बच्न उच्च सतर्कता अपनाउँदै अस्पताल परिसरमा छुट्टै हेल्थ डेक्स सञ्चालन गरेकोे छ ।
विश्वका विभिन्न देशमा फैलिरहेको कोरोना भाइरसकाे चितवन पनि उच्च जाेखिमा रहेकाेले संवेदनशीलताका साथ उच्च निगरानी राख्न छुट्टै हेल्थ डेक्स स्थापना गरिएकाे पुरानो मेडिकल कलेजका जनसम्पर्क अधिकृत दुर्गा न्यौपानेले जानकारी दिए । शुरूदेखि नै हेल्थ डेक्स सञ्चालनमा ल्याएकाे भएपनि अझै व्यवस्थित रूपमा सेवा दिने उदेश्यले छुट्टै हेल्थ डेक्स स्थापना गरिएकाे उनले बताए ।
‘हेल्थ डेक्समा स्वास्थ्यकर्मीले जनचेतनासँगै रुघाखोकी,ज्वरो र अन्य संक्रमणको लक्षण देखिएका बिरामीको स्वास्थ्य परीक्षण गर्ने व्यवस्था गरिएको छ,’ जनसम्पर्क अधिकृत न्यौपानेले भने, ‘कोही संकास्पद विरामी भेटिए उहाँलाई तत्कालै अस्पतालकाे आइसोलेसन वार्डमा राखेर उपचार गरिने छ ।’ कोरोना फैलन नदिन पुरानो मेडिकल कलेज सचेत रहेकाे समेत उनकाे भनाइ छ ।