जनकपुरको पशुपञ्छी रोग अन्वेषण प्रयोगशाला प्रयोगविहीन

जनकपुरधाम, २५ फाल्गुन । पशुपञ्छीहरुमा लाग्ने रोगको पहिचान र रोकथामका लागि २५ वर्षअघि जनकपुरधाममा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला प्रयोगविहीन बनेको छ ।
यस प्रयोगशालाबाट किसानले लाभ लिन सकिरहेका छैनन् । किसानहरुमा जनचेतनाको अभावका कारणले उनीहरु यसको सेवा लिन नसकेको प्रयोगशालाका कर्मचारीहरुको भनाई छ । १९ जिल्लाको पशु स्वास्थ्यलाई लक्षित गरि सरकारले २०५० सालमा जनकपुरधाममा क्षेत्रीय पशु रोग अन्वेषण प्रयोगशालाको स्थापना गरेको थियो । अहिले यसको नाम परिवर्तन गरी पशुपन्छि रोग अन्वेषण प्रयोगशाला राखिएको छ ।
घरपालुवा जनावरमा लाग्ने रोगको रोकथामका लागि खोप बितरण र औषधि सिफारिसका लागि प्रयोगशाला स्थापना गरिएपनि किसानहरुले लाभ लिन सकेका छैनन् । अहिले विगतमा भन्दा कृषकहरु यहाँ आउने संख्यामा वृद्धि भएपनि जुन रुपमा हुनुपर्ने हो त्यस अनुसारले बढन नसकेको क्षेत्रिय पशु रोग अन्वेषण प्रयोगशाला जनकपुरधामका प्रमुख वरिष्ठ पशु चिकित्सक डा.राकेश मोहन सिंहले बताए ।
प्रयोगशालामा नँया रोगहरुको पत्ता लगाउनुका साथै दुध,रगत,गोबर,पिसाब लगायत छाला रोगको परिक्षण पोष्टमार्टम पनि गरिन्छ । प्रयोगशालाले दिने सेवाबारे धेरै किसानलाई थाहै नहुँदा लाभ लिन सकेका छैनन् ।
तीन जना चिकित्सक,चार जना पशु स्वास्थ्य प्राबिधिक लगायत १२ जनाको दरबन्दी रहेको यस प्रयोगशालाप्रति किसानको आकर्षण बढाउनु जरुरी रहेको स्थानीयको भनाइ छ ।