कोरोना भाइरसको असर जनकपुरका माछामासु व्यापारमा 



Download our app to get more features

जनकपुरधाम, २५ फाल्गुन । होली पर्व आउन दुई दिन मात्र बाँकी रहेको समयमा जनकपुरका माछा मासुु व्यापारीहरु चिन्तित बनेका छन् । कोरोना भाइरसको हल्लाका कारण माछा मासुको व्यापारमा प्रत्यक्ष असर परेकोले व्यवसायीहरु चिन्तामा परेका हुन् । 

होली पर्वमा मासुको अत्याधिक प्रयोग हुँदै आएपनि यस वर्ष भने कोरोना भाइरसको हल्लाका कारण कतिपयले मासु खान छोडेको व्यवसायीहरु बताउँछन् । अन्य वर्षहरुमा होली पर्व आउनुभन्दा एक साता अगाडीदेखि नै खसीबोका बजार तथा मासु पसलहरुमा भीड़ लाग्ने गर्दथ्यो । यद्यपि यसपटक न खसी बजारमा भीड छ न त माछा मासुु बजारमा नै । 

मासुको व्यवसाय गर्दै आएका साजिद हुसैनले कोरोना भाइरसको हल्लाले व्यापार नै पूरै चौपट्ट भईसकेको दुःखेसो पोखे । उनले भने,‘होली पर्व आउनुभन्दा अगाडीदेखि नै हामीलाई भ्याई नभ्याई हुन्थ्यो तर यस पटक पसल नै सुनसान छ ।’

हुसैन अन्य वर्ष होली पर्वमा ८ देखि ९ क्विन्टलसम्म कुखुराकोे मासु बेच्थे तर यसपटक कोरोना भाईरसको हल्लाका कारण अधिकतम दुई क्विन्टलसम्म मासुको बिक्री हुनेमा उनी आशावादी छन् । उनी भन्छन्,‘पछिल्लो वर्ष ९ क्विन्टल मासु बिक्री गरेको थिएँ तर यस पटक २ क्विन्टल बिक्री भए आफूलाई भाग्यमानी ठान्ने छु । हुसैनले मासुमा कुनै किसिमको खराबी नरेहपनि कोरोना भाइरसको हल्लाका कारण मासु किन्नेहरुको संख्या ह्वात्तै घटेको सुनाए । 

माछा मासु व्यवसायी संघका हकिम राइनले कोरोनाको हल्लाको असर माछा मासु व्यवसायमा प्रत्यक्ष रुपमा परेकोे बताए । उनका अनुसार जनकपुरधाम बजारमा मात्रै होली पर्वको दिन ३ हजारभन्दा बढी खसी बोका काटिन्थ्यो । तर यस पटक मुश्किलले १ हजार खसी काट्न पनि धौ धौ हुने बताए । अन्य वर्षको तुलनामा यस वर्ष बढीमा २५ प्रतिशत व्यापार हुने उनले बताए ।   

जनकपुरधाम बजारमा धनुषाको महेन्द्रनगर, महोत्तरीको जलेश्वर, सिरहाको लहान र सर्लाहीको हरिवन तथा लालवन्दी बाट खसी ल्याउने गरिन्छ । होलीमा पनि व्यवसायीहरु त्यहीबाट खसी ल्याएका छन । हुनत केही व्यक्ति भारतबाट समेत खसी ल्याएका छन् । 

यता,अनुगमन गर्ने निकायको उदासिनताका कारण जनकपुरधाममा होली जस्तो पर्वमा पनि बाख्राको मासु मिसाएर व्यापारीहरुले बिक्री गर्ने गरेको पाइन्छ । फेरी कुनै निश्चित मूल्य समेत हुँदैन् । व्यापारीहरु आफूखुशी मूल्य निर्धारण गर्ने गर्छन् । अहिले जनकपुरधाम बजारमा खसीको मूल्य १ हजार रुपैयाँ प्रति केजी रहेको छ ।
 


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts