जनकपुरमा पहिलोपटक मेरुदण्डको सफल शल्यक्रिया

जनकपुरधाम, २४, फागुन । जनकपुरधाममा पहिलोपटक एक निजी अस्पतालले मेरुदण्डको सफल शल्यक्रिया गरेको छ । जनकपुरधामस्थित जानकी हेल्थकेयर एण्ड टिचिङ्ग हस्पिटलमा मेरुदण्डको सफलतापूर्वक शल्यक्रिया गरिएको हो ।
महोत्तरीको बलवा नगरपालिका–२ पडौलका ७६ वर्षीय राजकिशोर मण्डलको मेरुदण्डको सफल शल्यक्रिया गरिएको हो । अर्थोपेडिक स्पाइन सर्जन डा.राकेश मण्डल, अर्थोपेडिक डा.कुमार सम्भव र एनेस्थेसियाका डा.सन्दीप शर्माको टोलीले मण्डलको मेरुदण्डको सफलतापूर्वक शल्यक्रिया गरेका हुन् ।
कम्मरको हाड खिइएर नशा च्यापिने समस्याबाट १६ वर्षदेखि पीडित मण्डल पछिल्लो ८ महिनादेखि राम्ररी हिंडडुल समेत गर्न सकिएरहेका थिएनन् । शल्यक्रिया पश्चात आफु निको भएको र सहजै जिउ सिधा गरेर हिड्न सक्ने भएको भन्दै मण्डलले चिकित्सकलाई धन्यवाद दिएका छन् ।
मण्डलको सफल शल्यक्रिया गर्ने चिकित्सक टोलीका नेतृत्व गर्ने डा.राकेश मण्डलले अब जनकपुरधाममै मेरुदण्डको शल्यक्रिया सम्भव भएको बताए । यता जानकी हेल्थकेयर हस्पिटल प्रशासन पक्षले अब निरन्तर मेरुदण्डको शल्यक्रिया गर्ने जनाएको छ ।