कोरोनाभाइरस सङक्रमणको जोखिम नेपालमा पनि उच्च रहेको भन्दै संसदमा छलफल
सम्भावित सङ्कटको जोखिम रोक्न सरकार तयारी अवस्थामा

बीबीसी, २४ फाल्गुन । कोरोनाभाइरस सङक्रमणको जोखिम नेपालमा पनि उच्च रहेको भन्दै सरकारले विभिन्न प्रयासहरू गरेको बताइरहँदा सो विषयमा संसदमा छलफल भएको छ ।
सरकारले सङ्क्रमण रोक्नको लागि के गरिरहेको छ, भोलि सङ्क्रमण देखिए त्यसका लागि तयारी के छ भन्नेबारे बुझ्नका लागि उक्त प्रस्ताव पेश गरिएको प्रस्तावक काङ्ग्रेस नेता गगन थापाले बताएका छन् ।
“अहिले मानिसहरूमा कोरोनाभाइरसलाई लिएर सन्त्रास देखिएका बेला सरकारले कसरी काम गरिरहेको छ भन्ने थाहा पाउकालागि यो प्रस्ताव पेश गरेको हो," थापाले भने ।
कोरोनाभाइरस सङ्क्रमणको उच्च जोखिममा नेपाल पनि रहेको विश्व स्वास्थ्य सङ्गठनले बताएपछि सरकारले रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा एउटा उच्चस्तरीय समिति गठन गरेको छ ।
शुक्रवार पेश भएको प्रस्तावले उक्त समितिले कसरी काम गर्दैछ, सरकार कति तयारी अवस्थामा छ लगायतका विषयमा सरकारलाई सोध्ने र उसको जवाफ जान्न खोजिएको थापाले बताए ।
पूर्व स्वास्थ्यमन्त्रीसमेत रहेका थापाले सरकारले गठन गरेको समितिको कामको निरीक्षण गर्ने समिति पनि संसद्ले गठन गर्नुपर्ने माग गरेका छन् ।
“हाम्रा दुवै छिमेकमा सङ्क्रमणको असर देखिसक्दा हामीमा अहिलेसम्म त्यो देखापरेको छैन भन्नुको मतलब हामीसँग तयारी गर्ने समय छ,“ थापाले भने ।
इरानमा जस्तो एकाएक सङ्क्रमण व्यापक देखिए त्यसको सामनाकालागि पनि नेपाल तयार रहनुपर्ने सुझाव रहेको उनको भनाइ छ ।
संसद्मा बोल्दै स्वास्थ्यमन्त्री भानुभक्त ढकालले कोरोनाभाइरस सङ्क्रमणको सम्भावित जोखिमलाई ध्यान दिएर सरकारले विभिन्न अस्पतालमा १५५ वटा आइसोलेसन वार्ड अथवा एक्लै राखेर उपचार गर्न मिल्ने शैय्याहरू छुट्याइएको बताएका छन् ।
स्वास्थ्यमन्त्री ढकालले कोरोनाभाइरसको सङ्क्रमणलाई 'नपड्किएको एम्बुस’ सँग तुलनागर्दै सवधानीको विषयलाई सरकारले उच्च प्राथमिकतामा राखेको बताएका छन् ।
उनले कोभिड १९ नियन्त्रणका लागि सतर्कता अपनाउन १५५ वटा एक्लै राखेर उपचार गर्न मिल्ने शय्याहरू तयार अवस्थामा राखिएको बताएका छन् ।
उनले ७ वटा अस्पताललाई ’हब अस्पताल’का रूपमा विकास गरिएको पनि बताए ।
कोरोनाभाइरस नियन्त्रणसम्बन्धी प्रयासबारे नेपाली कांग्रेसका सांसद गगन थापाले संसदमा राखेको जरूरी सार्वजनिक महत्त्वको प्रस्ताव र त्यसबारे सांसद्हरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यी विवरण सार्वजनिक गरेका हुन् ।
सम्भावित सङ्कटको जोखिम
उनले ठूलो स्तरमा कोरोनाभाइरसको सङक्रमण नेपाल भित्रिएको अवस्थामा स्वास्थ्य क्षेत्रमा नै सङ्कटकाल लगाएर सबै स्वास्थ्य केन्द्रहरूलाई परिचालन गर्नुपर्ने अवस्था आउनसक्ने पनि बताए ।
सांसदहरूले इरानमा जस्तै तहमा कोरोनाभाइरसको सङ्क्रमण देखा परे सरकारले के गर्छ भनेर प्रश्न सोधेपछि मन्त्री ढकालले उक्त जवाफ दिएका हुन् ।
उनले त्यस्तो अवस्थामा स्वास्थ्य केन्द्रबाहेक अन्य संरचना समेत परिचालन गर्नुपर्ने उल्लेख गरे ।
उक्त प्रस्तावमाथिको छलफलका क्रममा सांसद्हरूले कोरोनाभाइरसको सङ्क्रमणसँग जुध्न सरकारले चालेका कदम र अस्पतालहरूमा गरिएका व्यवस्थाका बारेमा प्रश्न गरेका थिए ।
मन्त्री ढकालले देशभित्र संघ, प्रदेश अनि स्थानीय सरकारबीचको सहकार्यमा सबै खालका निकायलाई समेटेर अघि बढ्ने बताए ।
स्वास्थ्य मन्त्रालय मातहत तीन तहमा रहेका ३३ हजार बढी कर्मचारी र झण्डै ५२ हजार स्वास्थ्य स्वयंसेविका आवश्यक परे खटाउन सकिने उनले उल्लेख गरे ।
उनले विश्व स्वास्थ्य संगठन डब्लुएचओ र अन्य अन्तर्रा्ष्ट्रिय निकायहरूबाट पनि कोरोनाभाइरससँग जुध्न नेपालले मद्दत प्राप्त गरिरहेको बताएका थिए ।
नेपाल सहितका देश कोरोनाभाइरसको उच्च जोखिममा रहेको डब्लुएचओले हालै बताएको थियो ।
कोरोनाभाइरसलाई प्रवेश गर्न नदिने 'उच्च प्राथमिकता’
मन्त्री ढकालले सरकारले भारतसँगको सिमानामा रहेका भन्सार नाकाबाहेक अन्य ३७ ठाउँबाट पनि मानिसहरूलाई जाँच गरेर मात्रै नेपालमा प्रवेश गर्न दिने योजना बनाएको पनि उल्लेख गरे ।
ती नाकामा भारतीय नागरिकलाई समेत नेपाल प्रवेश गर्नुअघि जाँच गर्ने व्यवस्था मिलाइने पनि उनले उल्लेख गरे । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जाँच सेवालाई थप प्रभावकरी बनाउन प्रि फ्याब कक्ष बनाउन लागिएको उनको भनाइ छ ।
मन्त्री ढकालले सम्भावित जोखिमलाई ध्यान दिएर हालै चीनबाट फर्किएका १७५ विद्यार्थी राख्न प्रयोग गरिएको खरिपाटीको क्वारन्टीनको व्यवस्थालाई कायमै राख्ने बताए ।
उनले चन्द्रगढि, जनकपुर, भरतपुर र धनगढीमा विमान चढ्नुअघि ज्वरो नापेर पठाउने व्यवस्था शुक्रबारबाट गरिएको जानकारी दिए।
भारतबाट औषधि आपूर्ति नरोकिने 'वचन’
कोरोनाभाइरसको सङक्रमणका कारण भारतले कतिपय औषधि र त्यसका कच्चापदार्थ आपूर्तिलाई नियन्त्रण गर्ने घोषणा गरेको छ ।
त्यसको प्रभाव नेपालमा पनि केही महिनापछि पर्न सक्ने औषधि विक्रेताहरूले बताइसकेका छन् ।
संसद्मा बोल्दै मन्त्री ढकालले त्यसबारे नेपाल सरकारले कूटनीतिक पहल गरेको जवाफ दिए । उनले भने, “हामीले नेपाल सरकारले माग गरेको वस्तु नरोकिने वचनवद्धता भारत सरकारबाट प्राप्त गरेका छौँ ।
संसद्मा कोरोनाभाइरस नियन्त्रण प्रयासबारे छलफल चलिरहँदा त्यसका लागि गठित उच्चस्तरीय समितिका संयोजक उपप्रधानमन्त्री तथा रक्षामन्त्री अनुपस्थित भएको भन्दै सांसदहरूले प्रश्न उठाएका थिए ।
त्यसको जवाफमा मन्त्री ढकालले स्वास्थ्य मन्त्रालयसँग जोडिएको विषय भएकाले आफू उक्त छलफलमा उठेका प्रश्नबारे जवाफ दिन उपस्थित भएको उल्लेख गरेका थिए ।