नोबेल शिक्षण अस्पतालले मृत बिरामीको ३ दिनसम्म उपचार गरेको परिवारको आरोप

विराटनगर, २३ फाल्गुन । विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा मृतक बिरामीको ३ दिनसम्म उपचार गरिएको परिवारले आरोप लगाएको छ ।
सुनसरीको भोक्राहा गाउँपालिका–२ का २५ वर्षीय नइम मन्सुरीको मंगलबार बिहानै मृत्यु भएको तर अस्पतालले आईसीयूमा राखेर उपचार जारी छ भन्दै औषधि किन्न लगाएर रकम असुलेको आफन्तले आरोप लगाएका छन् ।
मृतककी श्रमति रुक्सार खातुनका अनुसार बुधबार राति र बिहीबार बिहान १० बजे औषधि खरिद गर्न लगाएको र रगत जाँचका लागि पैसा तिर्न लगाएर उपचार भइरहेको स्वाथ्यकर्मीहरुले बताएका थिए ।
चलचित्र शैलीमा मृत्यु भइसकेकाको उपचार गरेर अस्पतालले पैसा असुलेको भन्दै उनले बिहीबार बिहान ११ बजे आएका चिकित्सकले अस्ति नै मृत्यु भइसकेकाले घर लग्न भनेको अझै किन राखिरहेको भनेपछि चकित भएको बताइन् ।
ज्वरो आएको र टाउको दुखिरहेकोले छोरालाई फागुन १२ गते अस्पतालमा उपचारका लागि भर्ना गराएको मृतककी आमा मकिनाले बताइन् ।
नइमको ७ दिनदेखि आईसीयूमा राखेर उपचार भइरहेको र भेट्न जाँदा औषधि दिने गरेकाले बोल्न नसक्ने र हातखुट्टासमेत नचल्ने चिकित्सकले बताउने गरेको आमाको भनाइ छ ।
अस्पतालमा उपचारको क्रममा करिब १ लाख नाताकुटुम्ब लगायतसँग चन्दा संकलन गरेर बुझाइसकेको र अझै ९५ हजार रुपैयाँ तिर्न बाँकी रहेको छ भने औषधिको २ लाख बाँकी रहेको खातुनले बताइन् ।
क्षतिपूर्ति माग गर्दै अहिले मृतकका परिवारजन आन्दोलनमा छन् । अस्पतालले गरेको गल्तीको माफी माग्नु पर्ने र लागेको उपचार खर्च फिर्ता पाउनुपर्ने उनीहरुको माग छ ।