कोरोना चिन्ताः शैक्षिक शत्र चाँडै सक्न विद्यालयलाई सरकारको निर्देशन
एसईई परीक्षा चैत ६ गतेबाट हुने

बीबीसी, २३ फाल्गुन । विश्वभरि कोरोनाभाइरस सङ्क्रमण फैलिएकाले नेपालमा पनि चासो र चिन्ता देखिएको छ ।
नेपालमा पनि भाइरस सङ्क्रमण फैलिए दुई सातापछि हुन लागेको माध्यमिक शिक्षाको परीक्षा अर्थात् एसईई के गर्ने भन्ने प्रश्न उठेको बेला सरकारले परीक्षाको तालिकामा कुनै परिवर्तन नहुने जनाएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव महेशप्रसाद दहालले आवश्यक सावधानी अवलम्बन गरी परीक्षा सञ्चालन हुने बताएका छन् । यसपालि एसईई परीक्षा चैत ६ गतेबाट सुरु हुन लागेको छ ।
सचिव दहालका अनुसार एसईईका परीक्षार्थीलाई सङ्क्रमण भएको शङ्का लागे छुट्टै राखेर परीक्षा दिन लगाउने विषयमा स्वास्थ्य मन्त्रालयसँग कुरा भइरहेको छ ।
“एसईई परीक्षा सार्न सकिने अवस्था छैन। लगभग सबै क्षेत्रमा प्रश्नपत्रहरू पुगिसकेका छन्,” दाहालले भने ।
“कुनै विद्यार्थीलाई ज्वरो आयो वा रुघाखोकी लागेको छ भने छुट्टै राखेर परीक्षा दिन लगाउने व्यवस्था गर्ने भनेर सल्लाह गरेका छौँ । सम्भवतः त्यो अनुसारको सूचना हामी चाँडै जारी गर्छौं ।”
शैक्षिक सत्र चाँडै सक्न निर्देशन
नेपालमा अहिलेसम्म एक जनालाई मात्र कोरोनाभाइरस भएको पुष्टि भएको छ। तर ती व्यक्तिलाई पनि निको भइसकेको छ ।
तर कोरोनाभाइरसको सङ्क्रमण फैलिन नदिन केही दिनअघि सरकारले धेरै मानिस भेला हुने सभा, सम्मेलन, भोजजस्ता कार्यक्रम नगर्न सबैलाई आग्रह गरेको थियो ।
धेरै मानिस जम्मा हुने स्थानमा विद्यालय पनि पर्छन् । त्यसैले यसपालि शैक्षिक सत्र केही समयअघि नै सक्न निर्देशन दिइएको शिक्षा मन्त्रालयले जनाएको छ । सरकारले देशभरि रहेका झन्डै ३५ हजार विद्यालयमा कक्षा १ देखि ९ सम्मका सबै परीक्षा चैत ५ सम्म सम्पन्न गरेर बिदा दिन निर्देशन जारी गरिएको छ ।
परीक्षाकेन्द्रमा निगरानी
एसईई परीक्षामा लाखौँ विद्यार्थी सहभागी हुन्छन् ।
सचिव दहालका अनुसार स्वास्थ्य मन्त्रालयसँग सहमति भए प्रत्येक परीक्षाकेन्द्रमा कम्तीमा एक स्वास्थ्यकर्मी राखेर निगरानी गरिनेछ । त्यस विषयमा स्वास्थ्य मन्त्रालयसँग छिटै छलपल गर्ने उनले बताए ।
त्यसका लागि निजी र सरकारी दुवैथरी विद्यालयका प्रतिनिधि, स्थानीय सङ्घ र महासङ्घका प्रतिनिधि र उपत्यकाभित्र शिक्षा अधिकारीसँग पनि यो विषयमा कुरा भइसकेको उनले बताए ।
निजी विद्यालयहरूको सङ्गठन प्याब्सनको केन्द्रीय कार्यसमितिका सहअध्यक्ष डीके ढुङ्गानाले शैक्षिक सत्रबारे गरेको निर्णयले पाठ्यक्रमलाई खासै असर नपार्ने बताएका छन् ।
“विगतका वर्षहरूमा पनि चैत १० सम्म प्रायस् सबैतिर परीक्षा सकिन्थ्यो । अहिले सङ्क्रमणको जोखिम विश्वव्यापी रहेका बेला सरकारको निर्णय सकारात्मक रूपमा लिनुपर्छ,” ढुङ्गानाले भने सरकारको निर्णयानुसार प्रायस् धेरै विद्यालयले फागुन २८ गतेदेखि परीक्षाको मिति तय गरेर चैत ५ गतेसम्म पढाइ सकिसक्नेगरी तयारी भइरहेको पनि उनले बताए ।
निर्णयको स्वागत
सरकारले शैक्षिक सत्र चाँडै सक्न गरेको निर्णय स्वागतयोग्य भए पनि त्यसो गर्न केही ढिला भएको शिक्षाविद् मनप्रसाद वाग्लेले बताए ।
“सङ्क्रमणको जोखिम अलि अगाडिदेखि नै थाहा भएको हो । सरकारले शैक्षिक सत्रबारे अलि चाँडै निर्णय गरिदिएको भए विद्यालयहरूलाई अलि सहज हुन्थ्यो । तरपनि सरकारले गर्नैपर्ने निर्णय गरेको छ,” शिक्षाविद् वाग्लेले भने ।
परीक्षा सकिने बेलासम्मका लागि पनि विद्यालयमा स्वास्थ्यबारे सतर्कता अपनाउन निर्देशन दिइएको सचिव दहालले बताएका छन् ।
“विद्यालयमा सङ्क्रमणबाट जोगिन सचेतना कार्यक्रम पनि चलाउन आवश्यक देखिएकोले न्यूनतम सावधानीका उपायबारे, विद्यालयभित्र र घरमा अपनाउनुपर्ने सुरक्षाका उपायबारे सूचना सम्प्रेषण गरेका छौँ,” दाहालले भने ।
सङ्क्रमण नहुँदा र यदि सङ्क्रमण देखियो भने के गर्ने भन्ने दुवैखाले परिस्थितिबारे छलफल भइरहेको उनले बताए ।“भोलि परिस्थित कसरी अगाडि बढ्छ त्यसैअनुसार काम गर्नका लागि हामी उच्चस्तरीय र अन्य बैठकहरू गरिरहेका छौँ,” सचिव दहालले भने ।
भोलि अवस्था बिग्रिँदै गए के गर्ने भन्ने रणनीति र आफूले चाल्ने कदमको समीक्षा गरेर त्यसमा परिवर्तन गर्दै लैजाने उनले बताए ।