वाणिज्य विभागको बजार अनुगमन, बढी मूल्यमा सामान बिक्रि गरेको भन्दै २ लाखसम्म जरिवाना

काठमाडौं, २२ फाल्गुन । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले विभिन्न फार्मेसीलाई जरिवाना गरेको छ ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बिहीबार गरेको नियमित बजार अनुगमनको क्रममा क्षेत्रपाटीस्थित आइज्याक हस्पिटेक सपोर्ट प्रालिलाई २ लाख जरिवाना गरेको छ ।
हस्पिटेकले बढी मूूल्य लिएर मास्क तथा स्यानिटाइजर बेचेको पाइएपछि उपभोक्ता संरक्षण ऐनअनुसार जरिवाना गरिएको हो ।
हाम्रो डाक्टर न्यूजसँग कुराकानी गर्दै विभागका महानिर्देशक नेत्र प्रसाद सुवेदीले क्षेत्रपाटीको एमजे मेडिकलको सर्जिकललाई २० हजार र महाबौद्धको आरएफ फार्मेसीलाई १० हजार जरिवाना गरेको जानकारी दिए ।
उनले पछिल्लो समय विश्भर फैलिएको कोरोना भाइरसका कारण अत्यावश्यक बनेको मास्क तथा स्यानिटाइजरको बढी मूल्य लिएको र खरिद बिल नराखिएको कसुरमा उक्त जरिवाना गरिएको बताए ।
महानिर्देशक सुवेदीले वीर अस्पताल बाहिर रहेको आयुष फार्मेसीलाई पनि २ लाख जरिवाना गरिएको भन्दै पछिल्लो समय कोरोना भाइरस संक्रमणको त्रासमा सर्जिकल मास्क, स्यानिटाइजर लगायतका वस्तुको बजार माग बढिरहेको समय नियमित बजार अनुगमन गरिएको बताए ।