कोरोना भाइरसबाट त्रसित नहुन सरकारको आग्रह
काठमाडौं, २२ फागुन । सञ्चार एवं अर्थमन्त्री युवराज खतिवडाले कोरोना (कोभिड–१९) भाइरस संक्रमणबाट नेपालीहरु डराइ हाल्न पर्ने अवस्था नरहेको बताएका छन् । सरकारले कोरोनाको सम्भावित जोखिमलाई उच्च प्राथमिकतामा राखेर सुरक्षाका विभिन्न विधि अपनाएकाले डराउनुपर्ने अवस्था नरहको उनको भनाइ छ ।
मन्त्रिपरिषद् बैठकका निर्णय सुनाउने क्रममा बिहीबार मन्त्री खतिवडाले यस्तो बताएका हुन्। उनले हालसम्म नेपालमा कोरोना नदेखिएको बताए । उनले भने, ‘तेस्रो मुलुकबाट आउने यात्रुमाथि चेकजाँच गरिएको र शंकास्पदमाथि परीक्षण भइरहेको छ ।’ यस्तै हवाई यात्रुलाई स्क्रिनिङ गरी संक्रमणको संकेत देखिए क्वारेनटाइनमा राख्ने तयारी सरकारले गरिरहेको उनको भनाइ छ ।
सम्भावित कोरोना भाइरसको संग्रमणबाट जोगिन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेका कामहरू हरेक दिन सार्वजनिक गर्ने भएको छ । नेपाल हालसम्म कोरोना संक्रमण नदेखिएको र आउन सक्ने जोखिमलाई मध्येनजर गर्दै योजनाबद्ध रुपमा मन्त्रालयले काम गरिरहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले सरकारको नियमित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् ।
नागरिकलाई सही सुचना प्रवाह गर्न स्वास्थ्य मन्त्रालयले दैनिक बुलेटिने निकाल्ने सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले बताए । यस्तै कोरोना भाइरसको जोखिमबाट बच्न काठमाडौं उपत्यका र उपत्यका बाहिरका अस्पताललाई पनि तयारी अवस्थामा रहन निर्देशन दिइसकेको देवकोटाले बताए । बजारमा देखिएको मास्क अभावलाई परिपूर्ति गर्न थप मास्क उत्पादन र व्यवस्था मिलाउने उनले प्रतिबद्धता जनाए । साथै सिमा नाकाहरुमा पनि दक्ष स्वास्थ्यकर्मीसहितको टोली कोरोना चेकजाँचका लागि पठाइसकेको उनको भनाइ छ ।