भारतबाट अत्यावश्यक र औषधिजन्य वस्तुको आयात बढाइने कोरोना रोकथाम समितिको निर्णय

काठमाडौं, २२ फागुन । कोरोना रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिले भारतबाट अत्यावश्यक तथा औषधिजन्य वस्तुको आयात बढाउने निर्णय गरेको छ।
रक्षामन्त्री ईश्वर पोखरेल नेतृत्वमा बिहीबार सिंहदरबारमा बसेको बैठकले कोरोना नियन्त्रणमा सक्रियता बढाउन यस्तो निर्णय गरेको हो। अत्यावश्यक सामग्रीको आपूर्ति सहज गराउन प्रदेश र स्थानीय सरकारलाई खटाउने निर्णय पनि बैठकले गरेको छ। समितिले नेपालबाट हुने निकासी नियन्त्रण गर्ने र दक्षिण कोरिया जाने कामदारलाई रोक्ने निर्णय गरेको समाचार स्रोतका भनाइ छ। यस्तै बैठकले विभिन्न देशमा अध्ययन गर्न जाने विद्यार्थीलाई रोक लगाउने निर्णयका साथै मास्कको उत्पादन वृद्धि गर्ने निर्णय गरेको छ।
सर्वसाधारणको आवागमन कम गर्ने, सीमा नाकामा क्वारेन्टाइनलाई सक्रिय बनाउने, विमानस्थलमा यात्रुको स्वाब परीक्षण प्रभावकारी बनाउने निर्णय बैठकले गरेको छ। बैठकमा गृहमन्त्री रामबहादुर थापा, पर्यटनमन्त्री योगेश भट्टराई, अर्थ, सूचना तथा प्रविधि मन्त्री युवराज खतिवडा, कृषि तथा पशुपंक्षी मन्त्री घनश्याम भुसाल, वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्ट, मुख्यसचिव लोकदर्शन रेग्मी, सम्बद्ध मन्त्रालयका सचिव तथा उच्च अधिकारी सहभागी थिए।