कैलालीमा ८० हजार बालबालिकालाई दादुरा–रुबेला खोप लगाइने

कैलाली, २१ फागुन । कैलालीमा आउँदो १ चैतदेखि दादुरा–रुबेला खोप अभियान सुरु गरिने भएको छ। जिल्लाका ८० हजार बढि बालबालिकालाई दुई चरणमा गरेर खोप अभियान चलाइन लागेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।
अभियान अन्तर्गत जिल्लाका १३ वटै स्थानीय तहका ८० हजार चार सय ८४ जना बालबालिकालाई खोप लगाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख लालबहादुर धामीले बताए।
पहिलो चरणमा चैत १ गतेदेखि १४ गतेसम्म टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका, जोशीपुर गाउँपालिका, बर्दगोरिया र जानकी गाउँपालिकामा अभियान संचालन हुने उनले जानकारी दिए। अन्य पालिकामा दोस्रो चरण अन्तरगत चैत १५ गतेदेखि ३० गतेसम्म अभियान चलाइनेछ। अभियान अन्तरगत नौ महिनादेखि पाँच वर्षमुनिका बालबालिकालाई दादुरा–रुबेला खोप लगाईने स्वास्थ्य कार्यालयले जनाएको छ।