भारतीय सिमावर्ती क्षेत्रका हेल्थ डेस्कमा फितलो व्यवस्थापन, थर्मल स्क्यानर समेत छैन

जनकपुरधाम, २१ फागुन । कोरोना भाइरस (कोभिड–१९) रोकथाम गर्ने उद्देश्यले प्रदेश २ सँग जोडिएका भारतीय नाकामा हेल्थ डेस्क स्थापना गरिएका छन् । प्रदेश २ को धनुषा, महोत्तरी, सर्लाही, पर्सा र सिरहालगायतका सिमावर्ती क्षेत्रमा कोरोना भाइरस परीक्षणका लागि हेल्थ डेक्स स्थापना भए पनि फितलो व्यवस्थापनका कारण प्रभावकारी सेवा प्रवाह हुन सकेको छैन ।
प्रदेश २ को अधिकांश जिल्ला भारतसँग जोडिएको छ । जसका कारण बिनारोकतोक आवागमन भईरहेको छ । नाकामा हेल्थ डेस्क स्थापना भए पनि अहिलेसम्म दक्ष जनशक्ति, थर्मल स्क्यानर र ईन्फ्रा रे थर्मामिटर उपलब्ध छैन । स्वास्थ्य निर्देशनालय प्रदेश २ का सूचना अधिकारी विजय झाले कारोना भाईरसरोकथामका लागि हरेक जिल्लामा रहेका स्वास्थ्य चौकी र ११ वटा अस्पतालमा चेकजाँचको व्यवस्था गरिएको जानकारी दिए । उनले विदेशबाट आउने मानिसको चेकजाँचका लागि समेत व्यवस्था मिलाइएको बताए । विदेशबाट फर्किएका कसैलाई कोरोना आशंका गरिए क्वारेन्टाईनमा दुई सातासम्म राखेर उपचार गर्ने व्यवस्था मिलाइएको उनको दावी छ ।
धनुषाको नगराईन नगरपालिका, मुखियापट्टी मुसहर्नीया गाउँपालिका, जनकनन्दनी गाउँपालिका, महोत्तरीको भिठ्ठामोड, सर्लाहीको सोनवर्षा, पर्साको रक्सौल लगायतका नाकामा हेल्पथडेस्क सञ्चालनमा ल्याइएको छ ।