प्रधानमन्त्री ओलीको दोस्रोपटक मिर्गौला प्रत्यारोपण: शल्यक्रिया केहिबेरमा सुरु हुँदै
काठमाडौं, २१ फाल्गुन । प्रधानमन्त्री केपी शर्मा ओलीको अहिले केहिबेरमा मिर्गौला प्रत्यारोपण सुरु हुँदैछ ।
बिहान ९ बजेबाट सुरु हुने मिर्गौला प्रत्यारोपण शल्यक्रियाका लागि करिब ५ घन्टा लाग्ने बताइएको छ ।
यसअघि मिर्गौला प्रत्यारोपणका लागि सोमबार त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री ओलीको मंगलबार प्रि ट्रान्सप्लान्ट डायलासिस र अन्य स्वास्थ्य परीक्षण गरिएको थियो ।
प्रत्यारोपणको नेतृत्व गरिरहेका वरिष्ठ प्रत्यारोपण सर्जन प्रा.डा. प्रेम ज्ञवालीका अनुसार प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि सबै तयारी पूरा भएको छ । अबको केहिबेरमा प्रत्यारोपण शल्यक्रिया सुरु हुनेछ ।
डा. ज्ञवालीले मिर्गौला प्रत्यारोपणपछि कुनैपनि समस्या नदेखिए प्रधानमन्त्रीलाई एक सातापछि डिस्चार्ज गरिने बताए ।
प्रधानमन्त्री ओलीलाई अस्पतालको एनेक्स वार्डमा रहेको भिभिआईपी क्याबिनको ६०१ नम्बरमा राखिएको छ ।
प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि चिकित्सक, नर्स र स्वास्थ्यकर्मी गरी एक दर्जनभन्दा बढी खटिने भएका छन्। अस्पतालका कार्यकारी निर्देशक खड्गाका अनुसार ६ जना सर्जन, २ दुई एनेसथेसिस्ट, ८ जना नर्स तथा पारामेडिक्स उपचारमा खटिएका छन् ।
प्रधानमन्त्री ओलीलाई उनको भान्जी समीक्षा संग्रौला ज्ञवालीले मिर्गौला दान गर्दै छिन् ।