सुदूरपश्चिममा कोरोना जाँच्ने हेल्थ डेस्क मात्रै छन्, बिरामी फेला परे कहाँ लैजाने थाहा छैन

धनगढी, २० फागुन । ३१ डिसेम्बर २०१९ अर्थात गत १५ पुसमा चीनको बुहान शहरमा देखिएको कोरोना भाइरस (कोभिड–१९) अहिलेसम्म विश्वका ५० भन्दा बढी देशमा फैलिसकेको छ । महामारीका रुपमा फैलिरहेको कोरोनाबाट हालसम्म ३१ सयभन्दा बढीले ज्यान गुमाइसकेका छन् ।
विश्व स्वास्थ्य संगठनले नेपाल पनि उक्त भाइरसको उच्च जोखिममा रहेको भन्दै चेतावनी दिएको छ । तर, नेपालले भने कोरोना संक्रमण फैलन नदिन अहिलेसम्म राम्रो तयारी गरेको छैन् । राजधानी काठमाडौं जस्तो ठाउँमा समेत सरकारले कोरोना नियन्त्रणका लागि भरपर्दो तयारी नगरेको सर्वसाधारणको गुनासो छ । उपत्यका बाहिर र नेपाल–भारत सिमा क्षेत्रमा झनै पीडादायी अवस्था छ ।
सुदूरपश्चिम प्रदेशमा भने कोरोना भाईरसबारे आवश्यक जनचेतना समेत सरकारले पु¥याउन सकेको छैन । प्रदेश र स्थानीय सरकारले कोरोना संक्रमण फैलिन नदिन अहिलेसम्म कुनै पनि पूर्व सावधानी अपनाएका छैनन् । प्रदेशका ६ स्थान धनगढीको गेटा विमानस्थल, कैलालीको गौरीफन्टा र खक्रौला नाका, कञ्चनपुरको गड्डाचौकी र बैतडीको झुलाघाट र दार्चुलाको धार्चुलामा कोरोना जाँचका लागि हेल्थ डेस्क स्थापना गरिएको छ । तर संक्रमित फेला परिहाले कहाँ लैजाने थाहा छैन । यस्ता बिरामी राख्नका लागि कुनै पनि स्वास्थ्य संस्थाले न त आइसोलेसन वार्ड छुट्टाएका छन् न त क्वारेन्टाइनको व्यवस्था नै गरिएको छ ।
सुदूरपश्चिम प्रदेश पनि भारत र चीनसँग जोडिएकाले संक्रमित भित्रिने जोखिम छ । सुदूरपश्चिम उच्च जोखिममा हुँदाहुँदै पनि सम्बन्धित निकायले गम्भीर रुपमा लिएका छैनन् । हेल्थ डेस्कबाट कोरोनाबारे जनचेतना जगाउनुका साथै शंका लागेका व्यक्ति परीक्षणका लागि पठाउने दावी गरिएको छ । तर स्वास्थ्य सहायता कक्षमा रहेका स्वास्थ्यकर्मीहरूसंग पनि उपकरणको अभाव छ । उनीहरुले शंका आधारमा नमुना परीक्षणका लागि पठाउने गर्छन् ।
सेती प्रादेशिक अस्पतालमा राख्ने प्रवन्ध मिलाएका छौं
सीमा नाकासँग जोडिएको सुदूरपश्चिममा कोभिड–१९ बाट सर्तक रहन प्रदेश सरकारले आग्रह गरेको छ । सूदुरपश्चिम प्रदेश पनि संक्रमणको उच्च जोखिम रहेको भन्दै सरकारले नितीगत निर्णय गरेको जनाएको छ ।
‘विश्व स्वास्थ्य संगठनले नेपाललाई ‘हाईअलर्ट’मा राखेको छ’ सूदुरपश्चिम प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले भने, ‘नीतिगत निर्णय गरिएको छ । प्रदेशका स्वास्थ्य संस्थाहरुलाई तयारी रहन भनेका छौं । सबै स्वास्थ्य संस्थालाई परिपत्र समेत गरेका छांै । संक्रमितलाई क्वारेनटाईनमा राख्नुपर्छ भनेका त छौ तर सुदूरपश्चिममा क्वारेन्टाइ छैन ।’ अहिललाई सेती प्रादेशिक अस्पतालमा राख्ने प्रबन्ध मिलाएको उनको भनाइ छ । ‘संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको टोली मंगलबार धनगढी आउँदैछ’ कार्कीले भने, ‘संरचना निर्माण गर्न सकिदैन् तर संघीय सरकारको योजना अनुसार प्रदेश सरकारले पनि योजना निर्माण गर्नेछ ।’ २१ फागुनमा सुदूरपश्चिमका मुख्यमन्त्रीसहित, मन्त्री तथा सचिवको बैठक बस्ने भएकाले उक्त बैठकले केही निर्णय गर्ने उनले बताए ।
सर्तक रहन चकित्सकको आग्रह
कोरोना संक्रमण भएमा उच्च ज्वरो आउने, घाँटी दुःख्ने, खोकी लाग्ने, श्वास फेर्न कठिन हुने शरीरमा अन्य अस्वभाविक लक्षण देखिने चिकित्सकहरु बताउँछन् ।
यसकारण खोक्दा, हाँच्छिउ गर्दा रुमालले मुख छोप्ने, मासु, अन्डा राम्रोसँग पकाएर खाने तथा सरसफाईमा विशेष ध्यान दिन सेती प्रादेशिक अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डाक्टर शेरबहादुर कमरले सुझाव दिएका छन् । उनले कोरोनाको संक्रमणबाट जोगिन मानवीय व्यवहारमा सचेत हुनुपर्ने बताए ।