कोरोना भाइरसको जोखिम रोक्न प्रदेश ५ सरकार पूर्व तयारीमा

रुपन्देही, २० फाल्गुन । कोरोना भाइरसको जोखिम रोक्न प्रदेश ५ सरकार पूर्व तयारीमा जुटेको छ ।
प्रदेश ५ को सामाजीक विकास मन्त्रालयले कोरोना भाइरसको जोखिम रोक्ने पूर्व तयारीको सन्दर्भमा सरोकारवालाहरुसँग छलफल गरेको छ ।
छलफलको क्रममा सामाजिक विकासमन्त्री शुदर्शन बरालले प्रादेशिक अस्पतालहरुमा १५ प्रतिशत बेड छुट्याउन, सीमा नाकामा हेल्थ डेक्स राखिएपनि कोरना भाइरसको संक्रमण भएमा उपचारकालागि आवश्यक सामाग्री तयारी अवस्थामा राख्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।
मन्त्री बरालले शंकास्पद बिरामी भए सार्वजनिक यातायात वा अन्य गाडी नभई केहि सम्पर्क स्थानसहित विशेष एम्बुलेन्स तयारी अवस्थामा राख्न, आइसोलेसन सहित उपचारको प्रबन्ध र फोकल पर्सन तयारी अवस्थामा राख्न लगायतका काम तत्काल सुरु गर्न निर्देशन दिए ।
छलफलमा स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति व्यवस्थापन शाखाका प्रमुख चुडामणि भन्डारीले नेपालमा अहिलेसम्म १ जनामा कोरानाभाइरस फेला परेको र त्यो पनि निको भएर घर फर्केको भन्दै बाहिर आएको जस्तो अवस्था नभएको भन्दै बेलैमा सचेत हुन आग्रह गरे ।
छलफलमा सामाजीक विकास मन्त्रालयका सचिव डा गोपिकृष्ण खनाल, स्वास्थ्य निर्देशक डा विनोद कुमार गिरी, प्रदेश तालिम केन्द्रका निर्देशक महेश्वर श्रेष्ठ, प्रदेश आपिुर्ति केन्द्रका निर्देशक दिनेश कुमार चापागाइंर्, लुम्बिनी प्रादेशिक अस्पतालका मेसु डा राजेन्द्र प्रसाद खनाल, स्वास्थ्य मन्त्रालय व्यवस्थापन महाशाखा उमाशंकर चौधरी, स्वास्थ्य मन्त्रालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक केयरसिह गोदार लगायतले कोरोनाको जोखिम नियन्त्रणका लागि सबैले आ आफ्नो ठाउँबाट भूमिका निर्वाह गर्नुपर्नेमा बताएका थिए ।
डब्लुएचओले नेपाललाई कोरोना भाइरसको अति उच्च जोखिम भएको देशको सूचीमा राखेसँगै प्रदेश सरकारले पूर्वतयारी सुरु गरेको हो ।