कोरोना भाइरस जाँचका लागि सुदूरपश्चिमका ७ स्थानमा हेल्थ डेस्क

धनगढी, १९ फागुन । सुदूरपश्चिम प्रदेश सरकारले कोरोना भाइरस (कोभिड–१९) को सम्भावित लक्षण जाँचका लागि सात स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ ।
प्रदेश सरकारले दार्चुला, बैतडी, कैलाली र कञ्चनपुरका सात स्थानमा आवश्यक प्रविधिसहित स्वास्थ्यकर्मी परिचालन गरेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता हेमराज खड्काले पश्चिमी सीमानाका र गेटा विमानस्थलमा आवतजावत गर्ने सबै यात्रुको स्वास्थ्य जाँच थालेको बताए ।
‘दार्चुला र बैतडीमा नेपाल–भारत सिमाना र कञ्चनपुरको गड्डाचौकी नाकामा हेल्थ डेस्क सञ्चालनमा आएको छ ,’ प्रवक्ता खड्काले भने, ‘गेटा विमानस्थल, धनगढीको नाका र कैलालीको खङ्ग्रोला नाकामा स्वास्थ्यकर्मीको टोली खटिएर जाँच थालेको छ ।’ उनले सुदूरपश्चिममा जाँच गर्दा हालसम्म कसैलाई पनि कोरोनाको सम्भावित लक्षण नदेखिएको बताए । सामाजिक विकास मन्त्रालयले माघको तेस्रो साता कोरोना भाइरस प्रतिकार्य तयारीका लागि नीतिगत निर्णय समेत गरेको थियो ।