पूर्व कानूनमन्त्रीले संसदमा दर्ता गराए औषधीय वनस्पति गाँजा वैध गर्नेसम्बन्धी विधेयक

काठमाडौं, १९ फागुन । पूर्व कानूनमन्त्री एवं नेकपा सांसद शेरबहादुर तामांगले गाँजाको खेतीमा लगाइएको प्रतिबन्ध खोल्ने सम्बन्धी विधेयक संसदमा दर्ता गराएका छन् ।
सोमबार बसेको बैठकमा विधेयक दर्ता गराउँदै सांसद तामांगले गाँजा नेपाली भूभागमा पाइने औषधीय बनस्पति भएको भन्दै यसलाई नियन्त्रित रुपमा बैध गर्नुपर्ने बताए । नेपालले गाँजाको डाँठदेखि गेडासम्म उत्पादन गरेर निर्यात गर्न सके विदेशिएका नेपाली समेत नेपाल आउने र मुलुक आर्थिक रुपले सम्पन्न हुने बताए । अन्य देशको भन्दा नेपालको हावापानीमा पाइने गाँजा उच्चस्तरीय रहेको दावी गर्दै सांसद तामांगले गाँजाबाट औषधि निर्माण, ब्रोक्राको रेसाबाट कपडा, डाँठबाट फर्निचर बोर्ड तथा गेडाबाट अचार एवं तेल निकाल्न सकिने बताए ।
गाँजा खेतीका कारण हरियाली हुने र वातावरणीय सन्तुलनमा समेत टेवा पुग्ने उनको तर्क छ । विश्वका विभिन्न मुलुकमा गाँजाको प्रयोग र खेतीलाई वैधता दिने क्रम चलिरहेका बेला नेपालमा पनि गाँजा खुलाउने सम्बन्धमा बहस तातिएको छ । केही समय पहिले नेकपाकै अर्का सांसद विरोध खतिवडाले सांसदहरुको हस्ताक्षर सहित गाँजा खोल्ने सम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव संसदमा दर्ता गराएका थिए ।
गाँजाको प्रयोगबाट नेपालमा सिंहदरवार वैद्यखानाले थुप्रै औषधि निकाल्ने गरेको इतिहास भएपनि गाँजालाई लागूऔषध मान्दै नेपालले प्रतिबन्ध लगाएपछि ती औषधि उत्पादन बन्द भएका हुन् । अवैध रुपमै करोडौंको किनबेच हुने गाँजालाई वैध बनाएर करको दायरामा ल्याउँदा राज्यलाई ठूलो राजश्वको स्रोत हुने पनि जानकारहरु बताउँछन् ।