कोरोना भाइरसका नियन्त्रणका लागि भन्दै बन्यो तेश्रो समिति, उपप्रधानमन्त्री संयोजक

काठमाडौं, १८ फागुन । कोरोना भाइरस नामले चिनिने कोभिड १९ विश्वभर महामारीको रुपमा फैलिइरहेका बेला सरकारले त्यसको नियन्त्रणका लागि भन्दै उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा उच्चस्तरीय समिति गठन गरेको छ ।
शनिवार बसेको विभिन्न मन्त्रीहरु सम्मिलित बैठकले यसअघि नै चालिएका कदमहरुको समिक्षा गर्दै समिति नयाँ समिति गठन गरिएको हो । कोभिड १९ नियन्त्रणका लागि भन्दै स्वास्थ्य मन्त्रालयले यसअघि नै निर्देशक समिति र प्राविधिक समिति गठन गरिसकेको छ । बैठकमा यसअघि गरिएका तयारीले भाइरस संक्रमण बढ्न नदिन महत्वपूर्ण सफलता मिलेको सरकारी निश्कर्ष छ ।
शुक्रबारेका बैठकको निर्णय अनुरुप गठन भएको समितिमा उपप्रधान एवं रक्षामन्त्री पोखरेले संयोजक रहेका छन् भने विभिन्न मन्त्रीहरुलाइ सदस्य राखिएको छ । समितिमा गृह, परराष्ट्र, शिक्षा तथा विज्ञान प्रविधि, कृषि तथा पशुपंछी, स्वास्थ्य तथा जनसंख्या, उद्योग, संस्कृति र सूचना तथा सञ्चार प्रविधि मन्त्रीलाई सदस्य राखिएको छ ।
सो समितिले कोभिड १९ नियन्त्रणका निम्ति भएगरेका यसअघिका प्रयत्नहरुलाई जारी राख्दै नयाँ परिप्रेक्ष्यमा नयाँ रणनीति बनाएर अघि बढ्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रमुख विशेषज्ञ डा. दीपेन्द्र रमण सिंहले बताए ।