कोरोना आतंक : बल्ल कार्यविधि बनाउँदै सरकार, माक्सको मूल्य आकाशियो 



Download our app to get more features

काठमाडौं , १७ फागुन । विश्वभर कोरोना भाइरस भनेर चिनिने कोभिड (१९ महामारीको रुपमा फैलिरहेका बेला नेपालमा भने सतर्कताका लागि तयारी कमजोर देखिएको छ ।

विश्व स्वास्थ्य संगठनले कोरोना भाइरसको उच्च जोखिम भएको मुलुकको सूचिमा नेपाल पनि रहेको सार्वजनिक गरिसकेको छ । कोरोना भाइरसको उच्च जोखिम भएको मुलुकमा परेपनि उक्त भाइरससँग लड्नका लागि आवश्यक सतर्कता भने नेपालले अपनाएको देखिंदैन । नेपालसहित दक्षिण एशिया तथा विश्वका ५० देश कोरोना भाइरसको उच्च जोखिममा रहेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । 

 बल्ल कोरोना भाइरस सम्बन्धि कार्यविधी बनाउँदै मन्त्रालय 
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको जोखिम रोकथाम तथा नियन्त्रणका लागि भन्दै कार्यविधि बनाउने प्रक्रिया अगाडि बढाइएको जनाएको छ । मन्त्रालयका सहप्रवक्ता सागर दाहालले विश्व स्वास्थ्य संगठनले नेपाललाई कोरोना भाइरसको उच्च जोखिमको भएको क्षेत्रमा राखेपश्चात् कोरोना भाइरससँग लड्नका लागि मन्त्रालयले कार्यविधि बनाउन लागेको जानकारी दिए। 

कोरोना भाइरसको पूर्व तयारी स्वरुप नै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्क्रीनिङ तथा निगरानीका लागि अस्पतालसँगको  समन्वय र सहकार्य मन्त्रालयले अगाडि बढाएको उनी बताउँछन् । कोरोना भाइरस नेपालमा भित्रिएमा त्यसले भयावह स्थिती ल्याउने अनुमान विशेषज्ञहरुको छ। 

माक्सको मुल्य अत्याधिक बढ्यो   
चीनको वुहान शहरमा पहिलो पटक देखा परेको कोरोना भाइरसको असर स्वरुप नेपालमा माक्सको अभाव  तथा महँगी अत्याधिक बढेको छ । केमिकल एण्ड मेडिकल सप्लायर्स एशोसियसन नेपालका सचिव अर्जुन रायमाझीका अनुसार –नेपालको करिब ९० प्रतिशत व्यापार चीनसँग निर्भर छ । चीनमा कोरोना भाइरस देखा परेपश्चात् चीनबाट माक्स आउन छोडेको र नेपाली बजारमा माक्स अभाव सृजना भएको उनी बताउँछन् । 

चीनबाट नेपाल आयात गर्दो  एउटा माक्सको मूल्य ३ रुपैंया पर्छ । तर भारतबाट माक्स ल्याउनुपरेमा एउटाको १६ –१७ रुपैयाँ पर्न आउँछ । भारतबाट १६–१७ रुपैयाँमा आयात गरिएको माक्सको मूल्य विभिन्न प्रकारका कर समावेश गर्दा एउटा माक्सको मुल्य ५० रुपैयाँ पर्नु स्वभाविक भएको रायमाझीको तर्क छ।  ५० रुपैयाँमा नै भएपनि नेपालमा यस्तो अभावको समयमा माक्स बजारमा पु¥याउनेले भने ठूलै जोखिम लिएर माक्स आयात गरेको उनी बताउँछन् । जबसम्म नेपाली बजारमा चिनियाँ कम्पनीले उत्पादन गरेको माक्स आउँदैन तबसम्म नेपालमा  माक्सको मुल्यवृद्वि तथा सर्वसुलभ पूर्तिमा समस्या रहिरहने रायमाझी बताउँछन्। 

हालसम्म नेपालमा माक्स उत्पादनका लागि २– ३ कम्पनी दर्ता भएका छन् । माक्स उत्पादनका लागि भनी दर्ता भएपनि ती कम्पनी पनि चीन तथा भारतको उत्पादनमा नै भर परेको उनी बताउँछन् । उनीहरुले भारत तथा चीनबाट माक्स आयात गर्ने र नेपाल ल्याएर प्याकिङ मात्रै गरी बजारमा पठाउने हो ।

Last modified on 2020-02-29 16:10:43


फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts