अवकाश लिए पनि कान्ति बाल अस्पताल मन मस्तिष्कमा रहिरहने छ : डा. राई
काठमाडौं, १२ फागुन । कान्ति बाल अस्पतालका पूर्वनिर्देशक डा. गणेश राईले अस्पतालभित्र प्रवेश गर्दा राजनीतिक विचार तथा आस्था बिर्सनु पर्ने बताएका छन्। उमेर हदका कारण निवृत्त भएका पूर्व निर्देशक डा. गणेश राई र निवर्तमान निर्देशक डा. आरपी बिच्छया्को बिदाई नयाँ निर्देशकको स्वागतका लागि सोमबार आयोजित कार्यक्रममा उनले यस्तो बताएका हुन्।
कार्यक्रममा डा. राईले अस्पताल बाहिर मात्रै राजनीतिक विचार व्यक्त गर्न पाइने बताए । उनले अस्पतालको प्रत्यक्ष सेवाबाट अवकाश लिए पनि कान्ति बाल अस्पताल सधैं मन मस्तिष्कमा रहिरहने बताए । करिब ३० वर्ष लामो चिकित्सकीय सेवा अनुभव संगालेका डा. राईले अस्पताललाई सधै मन्दिरको रुपमा लिएको बताए । कान्ति बाल अस्पतालमा उपलब्ध सिमित स्रोत साधनका बाबजुत पनि आफ्नो कार्यकालमा धेरै राम्रा काम भएको उनको दावी छ । जसअन्तर्गत सामाजिक इकाइ सेवा तथा क्यान्सर विभाग प्रभावकारी रुपमा अगाडि बढाइनु पनि हो । आफ्नो कार्यकालमा सरकारले कान्ति बाल अस्पताललाई बजेट समेत कटौती गरेको उनले आरोप लगाए । उनले भने, ‘२५ करोड बजेट दिदै आएकोमा १९ करोडमा सिमित बनाइयो । यद्यपि, सो रकम तथा आन्तरिक स्रोतबाट अस्पताललाई व्यवस्थित रुपमा चलायौं ।’
कार्यक्रममा कान्ति बाल अस्पतालका निवर्तमान निर्देशक डा. आरपी बिच्छ्याले ७ महिने छोटो कार्यकालमा थला परेको कान्ति बाल अस्पताल सुधारको बाटोमा गएको दाबी गरे । उनले कान्तिमा एक सिफ्ट मात्रै चल्ने गरेको अल्ट्रासाउन्डलाई दुई सिफ्टमा सञ्चालन गरेको बताए । ७ महिनामा अस्पतालले करिब ८ करोड आम्दानी गरेको र जसमा पौने ६ करोड मात्रै खर्च भएको उनको भनाइ छ । यसबाट आगामी दिनमा पनि कान्ति बाल अस्पतालमा रहेका स्रोत साधनहरुलाई सही तरिकाबाट उपयोग गर्न सके पैसाका लागि अस्पतालले कसैको मुख ताक्नु नपर्ने उनले बताए।
कार्यक्रममा नव नियुक्त निर्देशक डा. कृष्णप्रसाद पौडेलले उमेरको जोश तथा जाँगरलाई पूर्ण रुपमा अस्पतालको विकासमा खर्चिने बताए । उनले आजैका मितिबाट १० जना ड्युटी अफिसर थप गएिको बताए । उपचारका लागि आउने बिरामीले सकेसम्म उपचार नपाएर अन्य अस्पताल धाउनु पर्ने अवस्था अन्त्य गर्न लाग्ने उनले प्रतिबद्धता जनाए ।