चीनमा फैलिएको कोरोना विश्व महामारी बन्ने खतरा, दक्षिण कोरियामा ७ जनाको मृत्यु

काठमाडौं, १२ फागुन । गत डिसेम्बरमा चीनबाट फैलिएको नयाँ कोरोना भाइरस (कोभिड-१९) को संक्रमण दक्षिण कोरिया र इटलीमापनि महामारीको रुपमा देखा परेको छ।
शुक्रबारयता दक्षिण कोरिया र इटलीमा कोरोनाबाट प्रभावित हुनेको संख्यामा निरन्तर वृद्धि हुन थालेको छ । दक्षिण कोरियामा मात्रै अहिलेसम्म कोरोना भाइरसको संक्रमणबाट ७ जनाको मृत्यु भइसकेको छ भने ७ सयभन्दा बढी संक्रमित भएका छन् ।
यस्तै इटलीमा अहिलेसम्म १ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ३ जनाको मृत्यु भएको छ । इरानमा अहिलेसम्म कोरोना पुष्टि भएकामध्ये ८ जनाको मृत्यु भइसकेको छ भने बेलायतमा थप ४ जनामा कोरोना भाइरसको पुष्टि भएको छ ।
अहिलेसम्म विश्वका २६ देशमा कोरोना भाइरसको संक्रमण फैलिसकेको छ । पछिल्लो समय चीन बाहिरपनि कोरोना भाइरस तिव्र गतिमा फैलिन थालेको छ ।
दक्षिण कोरिया र इटलीमा कोरोनाको संक्रमण भेट्न थालेपछि छिमेकी मुलुकसँगको नाका बन्द गरिएको छ । सरकारलेपनि कोरोनाबाट जोगिन विभिन्न जनचेतनमुलक सूचनाहरु दिँदै सचेत रहन आग्रह गरेको छ ।