कोरोनाको संक्रमण बढ्न थालेपछि दक्षिण कोरियामा रहेका नेपाली त्रसित, स्वदेश फर्काउन सरकारसँग अपिल

काठमाडौं, १२ फाल्गुन । दक्षिण कोरियामा नयाँ कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यहाँका नेपालीहरु त्रसित बनेका छन् ।
दक्षिण कोरियामा कोरोना भाइरसका कारण एकै दिन चार जनाको मृत्यु भएको र संक्रमित हुनेको संख्या ४ गुणाले बढेपछि त्यहाँ रहेका नेपाली त्रसित बनेका हुन् । पछिल्लो दुई दिनमा ४ सय ३३ जनामा कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि भएको छ ।
रोजगारी र अध्ययनको शिलसिलामा दक्षिण कोरिया गएका नेपालीहरुले सक्दो चाँडो स्वदेश फर्काउन सरकारसँग अपिल समेत गरेको त्यहाँ रहेका पाल्पाका विष्णु बस्यालले हाम्रो डाक्टर न्यूजसँग कुराकानी गर्दै बताएका छन् ।
यसैबीच, श्रम विभाग अन्तर्गतको ईपीएस शाखाले कोरियामा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि तत्कालका लागि कोरिया जाने कामदारको उडान प्रभावित हुने जनाएको छ ।
आगामी फागुन १८ गतेलाई ४० जना कामदार पठाउने गरी कार्यसूची बनाएपनि अवस्था सहज हुने अवस्था नहुँदा कामदार त्यस क्षेत्रमा पठाउन नसकिने शाखाका निर्देशक कृष्ण खनालले हाम्रो डाक्टर न्यूजलाई बताए ।
कोरियास्थित दूतावाससँग सल्लाह गरेरै कामदार तत्काललाई नपाठउने निर्णय भएको उनको भनाइ छ ।
सन् २०२० मा करिब साढे ७ हजार नेपाली कोरिया जाँदैछन् । तर, कोरियामा कोरोनाको संक्रमण फैलिँदै गएपछि आफ्ना नागरिकलाई सुरक्षित राख्न त्यहाँको अवस्था हेरेर मात्रै कामदारलाई पठाउने खनालले बताए ।
दक्षिण कोरियामा कोरोना भाइरसको संक्रमण बढ्न थालेपछि त्यहाँ स्थित नेपाली दूतावासले सबै नेपालीलाई सुरक्षित रहन आग्रह गरेको छ ।