नक्कली डाक्टर : ३७ मध्ये १२ सरकारी सेवाकै



Download our app to get more features

काठमाडौं, १३ असार ।नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा डाक्टर बनेर काम गरेको अभियोगमा पक्राउ परेका ३७ चिकित्सकमध्ये १२ सरकारी सेवाकै रहेको खुलेको छ ।

आईएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र रहेको अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत साता ३७ चिाकित्सकलाई पक्राउ गरेको थियो । तीमध्ये १२ जना विभिन्न सरकारी अस्पतालमा विज्ञका रूपमा काम गरेका चिकित्सक हुन् ।

आईएस्सीको नक्कली शैक्षिक प्रमाणपत्र बनाएको अभियोगमा अनुसन्धानका लागि ब्युरोको हिरासतमा रहेका सन्तोषकुमार झा ६ महिनादेखि वीर अस्पतालको ट्रमा सेन्टरमा मेडिकल अधिकृतका रूपमा कार्यरत थिए । उनले नेपाल मेडिकल काउन्सिलमा बंगलादेशको एमबीबीएस र चीनबाट एमडी गरेको शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सकीय अध्यासको अनुमति पाएका थिए । रामजी यादव २ वर्षदेखि स्त्री तथा प्रसूति रोगविज्ञका रूपमा जनकपुर अञ्चल अस्पतालमा कार्यरत थिए । उनी पूजा मेडिकल हलमा समेत काम गर्ने गरेको ब्युरो अनुसन्धानमा खुलेको छ ।

पन्नालाल पटेल ५ वर्षदेखि नारायणी उपक्षेत्रीय अस्पतालमा चिकित्सकका रूपमा कार्यरत थिए भने गण्डक अस्पताल वीरगन्जमा २ महिनादेखि अनकल चिकित्सकका रूपमा संलग्न थिए । नेपालबाट एमबीबीएस र एमएस गरेका सरोजकुमार सिंह, नारायणी उपक्षेत्रीय अस्पताल र रौतहट जिल्ला अस्पतालमा कार्यरत रहेको ब्युरोले खुलाएको छ ।

सुनील आचार्य स्त्री रोगविज्ञका रूपमा स्वास्थ्य मन्त्रालयमा कार्यरत थिए । उनले एमबीबीएस र एमडीको शैक्षिक प्रमाणपत्र बंगलादेशको पेस गरेका छन् । ब्युरोस्रोतका अनुसार मनीष अर्याल कोसी अञ्चल अस्पताल र परिवार नियोजन संघ सुनसरीमा कार्यरत थिए ।

चीनको एमबीबीएसको प्रमाणपत्रका आधारमा चिकित्सक बनेका अर्थोपेडिक चिकित्सकका रूपमा कार्यरत गजानन्द प्रकाश भण्डारी वीर र क्षयरोग निवारण केन्द्र भक्तपुरमा कार्यरत थिए । उनले एक वर्ष चिकित्सकका रूपमा काठमाडौं मेडिकल कलेजमा समेत काम गरेको खुलेको ब्युरोस्रोतले जानकारी दियो । पक्राउ पर्दा उनी विराटनगरको गोल्डेन अस्पतालमा हाडर्जोनी विशेषज्ञका रूपमा कार्यरत थिए ।

किर्गिस्तानबाट एमबीबीएस गरेका महेशर यादव २०६२ देखि सरकारी सेवामा संलग्न रहेको ब्युरोको अनुसन्धानमा खुलेको छ । ब्युरोस्रोतका अनुसार उनी जनकपुर अञ्चल अस्पतालमा मेडिकल अधिकृतका रूपमा करारमा कार्यरत थिए । उनले यस अगाडि संखुवासभाको चैनपुर, बाराको निजगढको प्राथमिक स्वास्थ्य केन्द्रमा करारमा काम गरेका थिए ।

नेपालबाटै एमबीबीएस गरेका श्रीराम घिमिरे जिल्ला अस्पताल अर्घाखाँचीमा संलग्न देखिएका छन् । उनी हाम्रो सहयात्री अस्पताल जडिबुटीमा समेत काम गर्थे । कुशराज गिरी नारायणी उपक्षेत्रीय अस्पताल वीरगन्जमा बालरोग विशेषज्ञका रूपमा कार्यरत थिए । रामकुमार प्रधान वीर अस्पताल र सञ्जयकुमार दास कोसी अञ्चल अस्पतालमा मेडिकल अफिसरका रूपमा कार्यरत रहेको ब्युरोले खुलाएको छ ।

सरकारीमाथि अख्तियार लाग्ने
प्रहरीले निजीसँगै पक्राउ परेका सरकारी चिकित्सकमाथि ठगी गरेको अभियोगमा हिरासतमा राखेर अनुसन्धान प्रक्रिया अगाडि बढाइरहेको छ ।

सरकारी चिकित्सकको हकमा ठगीको अनुसन्धान सकिएपछि नक्कली शैक्षिक प्रमाणपत्रका आधारमा चिकित्सक बनेर अख्तियारीको दुरुपयोग गरेको अभियोगमा भ्रष्टाचार मुद्दासमेत लाग्छ । ब्युरोका प्रवक्ता दिवस लोहनीका अनुसार सरकारी सेवामा कार्यरत रहेका चिकित्सकको हकमा जिल्ला न्यायाधिवक्ताको कार्यालयमा लेखेर पठाउने र उसले प्रक्रियाअनुसार अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा अनुसन्धानका लागी पठाउने जानकारी दिए ।

 कान्तिपुर दैनिकमा केपी ढुंगानाले लेखेको समाचार छ । 

 

Last modified on 2016-06-27 11:59:47

  1. बासुदेव न्यौपाने

    बासुदेव न्यौपाने हाम्रो डक्टरमा संवाददाता एवं डेस्क सम्पादकका रुपमा कार्यरत छन् ।

    View Other Stories by Author >>

फेसबुकबाट तपाईको प्रतिक्रिया

Related Posts